मकवानपुर, १५ माघ ।
‘विजुली माया व:न श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार- २०८१ बाट हेटौंडामा कलाकार नीर शाह सम्मानित भएका छन् । मंगलबार भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले सम्मान तथा सागीतिक कार्यक्रमको आयोजना उक्त पुरस्कार शाहलाई प्रदान गरिएको हो ।
प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठ, साहित्यकार नगेन्द्र थापा, एलबी क्षेत्री लगायतले १ लाख राशीको पुरस्कारसहित गीतकार शाहलाई सम्मानित गरेका हुन् । मूलतः चलचित्र निर्माण, निर्देशन एवम् अभिनयमा समर्पित शाह २०३२ सालदेखि निरन्तर नेपाली गीत लेखनमा समेत सक्रिय स्रष्टा हुन् । उनले नेपाली गीतसंगीतमा पुर्याएकाे योगदानको कदर गर्दै पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ ।
नेपाली गीत लेखनको क्षेत्रमा विगत पाँच दशकदेखि निरन्तर कलम चलाउँदै आएका कलाकार शाहका पर्खी बसेँ आउला भनी.., बादल बनाइदेऊ.., गहिराइमा डुब्दै नडुब .. लगायतका गीत चर्चामा छन् ।
व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको सम्मानमा २०६४ सालमा पुरस्कारकाे स्थापना गरेका हुन् । २०६४ सालमा अम्बर गुरुङलाई ‘विजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ प्रदान गरिएकाे थियाे । स्थापना हुँदा ५० हजार रुपैयाँ रहेकाे उक्त पुरस्कारकाे राशी २०६७ सालबाट बृद्धि गरी १ लाख रुपैयाँ पुऱ्याइएको छ ।
त्यसपछि प्रेमध्वज प्रधान- २०६५, भक्तराज आचार्य – २०६६, फत्तेमान राजभण्डारी- २०६७, शान्ति ठटाल- २०६८, दीप श्रेष्ठ- २०६९, प्रकाश श्रेष्ठ- २०७०, न्हुच्छेबहादुर डङ्गोल- २०७१, मीरा राणा- २०७२, कर्म योञ्जन- २०७३, चेतन कार्की- २०७४, दावा ग्याल्मो- २०७७, दीपक जङ्गम- २०७८, किरण प्रधान २०७९, राजेन्द्र थापा- २०८० पुरस्कृत भएका छन् ।
वरिष्ठ कलासाधक भीम विरागको सम्मानमा तरङ्ग साँस्कृतिक परिषद्को पहलमा २०५९ भदौ ७ गते स्थापना भएको भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल नेपाली सङ्गीत, साहित्य र कला क्षेत्रकाे संस्था हाे । देश तथा विदेशमा रही नेपाली वाङमयकाे क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै आएको यो संस्थाले मकवानपुरको माटोबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान समर्पण गर्दै आइरहेको प्रतिष्ठानले जानकारी दिएकाे छ ।