अलिकति अप्रासङ्गिक कुरा
पाठकवृन्द, तपाईंलाई के लाग्छ ? नेपाली साहित्यमा सबैभन्दा बढी लेखिने कुरा के हो ? मलाई यही प्रश्न सोध्नुहुन्छ भने मचाहिँ ढुक्कले भन्छु, कविता । किन ? भनेर प्रतिप्रश्न गर्न सक्नुहुन्छ । मेरो उत्तर यही हुन्छ, मेरो अल्प अध्ययनको परिणति हो कि ? मैले त्यस्तै भेटेको हुँ कुन्नि ? म जताततै कवितै कविता देख्छु त ।
हिजोआज कविता भनेर छापिने र पढिने रचनामा कविता तत्व कति छ ? त्यसको खोजी भने गर्नैपर्छ । अनावश्यक गन्थन कविता हो ? कि लयमा भटउनु कविता हो ? पाठकवृन्द तपाईचाहिँ के ठान्नुहुन्छ नि ? अझ छन्द कविताका हकमा भन्ने हो भने त कि त्यसमा व्यक्ति वर्णन र गुणगान पाइन्छ कि छन्दको प्रवाह मात्रै । त्योभन्दा बढी त केही कविका केही कवितामा मात्र कविताजस्तो कुरा पाइन्छ । त्यसैले मेरो जिज्ञासा यो छ कि के छन्द आफैँमा कविता हो र ? यसका बारेमा बहस गर्नुपर्ने बेला भएन र ?
त्यसपछि त्यसपछि राजेन्द्र घायलका कुरा
खासमा म कविलाई कविका रुपमा मात्रै चिन्न मन पराउँछु । यस्तै कुरा कवि राजेन्द्र घायलका हकमा पनि लागू हुन्छ । मैले राजेन्द्र घायललाई त्यही नामबाट चिन्थेँ र लामो समय चिनिरहेँ । उनको वास्तविक नाम राजेन्द्रप्रसाद सिलवाल हो भन्ने कुरा त केही समय अगाडि मात्र थाहा पाएको हुँ । नाममा त्यस्तो के राखेको छ र ? होइन त पाठकवृन्द ?
त्यसो त राजेन्द्र घायलसँग सङ्गत गरेको दुई दशकभन्दा बढी समय भयो । त्यतिबेला उनको घायल उपनाम देख्दा के नमिलेको के नमिलेको लाग्थ्यो । यतिबेला उनी वास्तवमै घायल छन्, यसर्थ यो उपनाम निकै सुहाएको लाग्छ । मिठो स्वरमा सबैलाई मन्त्रमुग्ध बनाउन सक्ने उनी आशुकवि हुन् । उनी गफलाई पनि लयमा मिलाउन सक्छन् । त्यो खुबी सबैमा कहाँ हुन्छ ? नियतिले त्यही स्वरमा हानेपछि उनी यतिबेला साँच्चै घायल छन् ।
कवि राजेन्द्र घायल छैटौँ कृतिका रुपमा `घायलको घुँयेत्रो´ लिएर हामी माझ आएका छन् । उनी यो कृतिमा आफ्नो नाममा रहेको घायलजस्तो घायल कविता लिएर आएका छैनन् । उनका यी कविता समाजका लागि दह्रो पहरेदारी हो । उनका यी कविता साँच्चै घुयेँत्रोबाट छुटेका मट्याङ्ग्रा जस्ता छन् । चरालाई लाग्यो भने ठाउँको ठाउँ ठहरै पार्छ । मान्छेलाई लाग्यो भने पनि घायल बनाउन सक्ने खुबी राख्छ । यसर्थ उनका लागि कविता घुयेँत्रो नै हो । यसो भन्दा उनीप्रति अन्याय हुन्छ भन्ने कत्ति पनि ठान्दिनँ म ।
घायलको घुयेँत्रोको बाहिरी प्रदक्षिणा
कवि राजेन्द्र घायलको छैटौँ साहित्यिक सन्तान बनेर आएको घायलको घुयेँत्रो कवितासङ्ग्रहले कूल १११ पृष्ठको आयाम बोकेको छ । जम्मा ९० वटा फुटकर कविता समेटिएको यो कृतिका सबै कविता घुयेँत्रोमा चढाइने मट्याङ्ग्रा जत्तिकै सशक्त छन् । मूलतः व्यङ्ग्यचेत बोकेको भए पनि यसभित्र प्रकृति, संस्कृति, जीवन र जगत्का विविध विषयवस्तु समेटिएका छन् ।
कवि राजेन्द्र घायलका कविताका बारेमा सशक्त छन्दकवि तथा समालोचक केशवराज आमोदी कृतिभित्रको भूमिकामा यस्तो धारणा राख्छन्, “राजेन्द्र घायल चेतनाको भर्भराउँदो मसाल सल्काउँदै व्यङ्ग्यका घुयेँत्राहरु बर्साउँदै समाजमा बसेर ठगी, तस्करी, बेइमानी, दलाली र अराजकताद्वारा जनताप्रति थिचोमिचो, शोषण र अन्यायका जालो बिछ्याउँदै मनपरी गर्नेहरुप्रति व्यङ्ग्यका घोचक, रोचक, पोटिलो र चोटिला शाब्दिक घुयेँत्राहरुले प्रहार गरी विभिन्न छन्द, विभिन्न रस र विभिन्न विषयमा आधारित पृथक् शैली, शिल्प र चिन्तनले ओतप्रोत नवीनतम कृति घायलको घुयेँत्रो कवितासङ्ग्रह, २०८१ प्रकाशनको तयारीमा जुुटिरहेका छन् ।”
घायलको घुयेँत्रोभित्र मट्याङ्ग्राका कुरा
पाठकवृन्द, तपाईंले घुयेँत्रो देख्नुभएको छ ? अनि मट्याङ्ग्रा नि ? त्यसो त घुयेँत्रोमा मट्याङ्ग्रा नै राख्नुपर्छ भन्ने छैन । त्यसमा त ससाना ढुङ्गा राखेर पनि परसम्म हिर्काउन सकिन्छ । यदि मट्याङ्ग्रा राख्न पाइयो भने चाहिँ परसम्म हिर्काउन सकिन्छ । यसर्थ घुयेँत्रोका लागि मट्याङ्ग्रा अति आवश्यक कुरा हो भन्ने धारणा छ मेरो । घायलको घुयेँत्रो कवितासङ्ग्रहभित्र त्यस्ता मट्याङ्ग्राको भकारी नै छ । यहाँ मैले यहाँहरुका लागि केही मट्याङ्ग्राहरु पेस गरेको छु । हेर्नुस् है त ।
मट्याङ्ग्राको भीडबाट टिपेर केही नमुना पेस गर्ने क्रममा सबैभन्दा पहिला उनको ‘घुमेको छ उल्टो घडीझैँ समाज’ शीर्षकको कवितामा भेटिएको एउटा मट्याङ्ग्रा यस्तो छ :
रुपैयाँ र पैसा जपी जायजेथा
जुधी एक अर्को लटारो गरेका
चल्यो जालसाजी तमासा कवाज
घुमेको छ उल्टो घडीझैँ समाज । (पृ. ३)
माथिको साक्ष्यमा पैसाले समाजमा पार्ने प्रभावमाथि व्यङ्ग्य प्रहार गरिएको छ । त्यस्तै ‘के काम श्रद्धाञ्जलि ?’ शीर्षकको कवितामा भेटिएको अर्को मट्याङ्ग्रा यस्तो छ :
पीडामा अति कष्टमा मिटरका ब्याजी रुँदैछन् अरे
खायो इज्जत धान्नुले धन सबै जेथा गुमेको छ रे
चुत्थो देह जिएर के जगतमा हल्ला भयो खल्बली
मर्लान् ती अब हो राख पछिको के काम श्रद्धाञ्जलि ? (पृ. ५)
माथि लिइएको कवितांशमा मिटर ब्याजीका कारण सोझा जनता कसरी मर्कामा परिरहेका छन् भन्ने कुरातर्फ घायलको घुयेँत्रो घुमेको छ । त्यस्तै गरी ‘ए ! टाउका हो मिल’ शीर्षकको कवितामा भेटिएको एउटा मट्याङ्ग्राको नमुना हेरौँ :
बेची क्रान्ति हुँदैन खान त्यसरी खोजेर कुर्ची, पद
बिस्तारै जब गाडियौ सयलमा घट्दैछ तिम्रा कद
छेस्का बिझ्नगयो विचार मुटुमा पल्टेछ ऐले खिल
मिल्काई खिल स्वस्थ्य भै समयमै ए ! टाउका हो मिल । (पृ. १०३)
माथिको साक्ष्यमा क्रान्तिकारीहरु बिग्रिँदै गएकाले तिनीहरुलाई तितरवितर नभई मिल्नका लागि आग्रह गरिएको छ । त्यस्तै उनी ‘रमिता छ र पो कविता छ यहाँ’ शीर्षकको कवितामा यस्तो मट्याङ्ग्रा हान्ने काम गर्छन् :
कविता कविको अब झीर बनोस्
छल बेथितिको शिरमाथि गढोस्
यति भन्छु यहाँ जय होस् कविता
कवि ब्यूँझ अझै रचियोस् कविता । (पृ. ९०)
कविले माथिको कवितांशमा कवितालाई धारिलो हतियारका रुपमा प्रस्तुत गरेका छन् । त्यस्तै उनको ‘चिम्लिन्छिु आँखा बरु’ शीर्षकको कवितामा भेटिएको एउटा मट्याङ्ग्रा यस्तो छ :
के हो क्रान्ति रहेछ भ्रान्ति भ्रम पो सम्पूर्ण छर्लङ्ग भो
साराको मनमा रहेछ सपना सत्ता र कुर्सी बडो
ठोक्छन् मादल स्वार्थका नियतले पिट्छन् कुनै डम्मरु
नाङ्गो नृत्य छ आज माथि शिरमा चिम्लिन्छु आँखा बरु । (पृ. ४३)
कविले माथिको कवितांशमा क्रान्ति पनि भ्रान्ति बन्दै गएको कुराप्रति व्यङ्ग्य गरेका छन् । त्यस्तै गरी उनी ‘किन फेरिएन ?’ शीर्षकको कवितामा यस्तो खालको मट्याङ्ग्रा हान्ने काम गर्छन् :
चल्छन् पुरानै रीत वा रिवाज
संस्कार भद्दा किन हुन्छ ? आज
देखासिकीको किन घुम्छ ? चेन
चल्ती पुरानो किन फेरिएन ? (पृ. ३६)
माथिको कवितांशमा कविले समाजमा विद्यमान कुरीति र कुसंस्कारप्रति मट्याङ्ग्रा हान्ने काम गरेका छन् । त्यस्तै उनी ‘कुकुरहरुको विरोधपत्र’ शीर्षकको कवितामा यस्तो मट्याङ्ग्रा ताकेर हान्छन् :
हामी मानिस बन्नुछैन कहिल्यै जे छौँ हुनेछौँ उही
मान्छेले बहुभेष धर्दछ बडो लाएर खोक्रो फुइँ
हामी जत्ति इमानदार छ कहाँ मैमत्त भो व्यर्थको
हाम्रो नाम नकाढ हे मनुज हो सुन्दा सुहाउन्न त्यो । (पृ. १९)
कविले मानवलाई मात्र नभएर जनावरलाई समेत बिम्ब बनाएर मट्याङ्ग्रा हानेका छन् । यी केही प्रतिनिधि मट्याङ्ग्राहरु हुन् । समग्र रुपमा नपढी यसको पूरा स्वाद लिन सकिँदैन । यसका लागि त कृति नै पढ्नुपर्यो नि हैन र पाठकवृन्द ?
अन्त्यमा छुटुपुट कुरा
राजेन्द्रजी, तन घायल भएर केही हुँदैन, मन घायल भने हुनुभएन । पारिजात जीवनभरि घायल थिइन्, जगदीश घिमिरेले घायल भएपछि नै उत्कृष्ट सिर्जना दिएका हुन् । यहाँलाई भएकै के छ र ? यहाँको कलम समाउने हात बलियै छन् । यहाँको मन बलियो छ । यहाँबाट अझ सशक्त कविता जन्मिन सक्छन् । त्यसले विकसित रुप खण्डकाव्य र महाकाव्यसम्म फैलिने अवसर पाउनुपर्छ । त्यसका लागि पनि तयार हुनुस् । यहाँको घुयेँत्रो पुग्नुपर्ने ठाउँमा पुगोस् र ताकेको ठाउँमा लागोस् भन्ने शुभेच्छा छ मेरो अन्त्यमा यहाँको कृति सफल होस् यही मनोकामना र अपार सफलताको शुभकामनासहित कलम रोक्छु । भबतु सब्ब मङ्गलम् ।