विप्लव काफ्ले/कायाकैरन
भरतपुर,६ जेेठ।
माडी नगरपालिकामा ५ जना पूर्व शिक्षकहरु वडाध्यक्षमा चयन भएका छन् । विद्यार्थीको भविष्य निर्माणमा खटिएका शिक्षक स्थानीय तहको चुनावबाट जनप्रतिनिधिका रुपमा चयन भएका छन् ।
माडीका ९ वडामध्ये ५ वडामा वडाध्यक्षका रुपमा पूर्वशिक्षक विजयी भएका छन् । माओवादी केन्द्रका तर्फबाट २ मा इश्वरी ढकाल, ४ मा चन्द्रदीप महतो चयन भएका छन् । एमालेका तर्फबाट ७ मा बालकृष्ण सापकोटा, ८ मा कृष्णराज अधिकारी, ९ मा शिवहरी सुवेदी चयन भएका छन् । अन्य वडाध्यक्ष मध्ये २ जना सक्रिय राजनीतिक जीवन विताएका व्यक्ति छन् भने एक जना सफल बस व्यवसायी छन् ।
माडी–२ को वडाध्यक्षमा विजयी भएका पूर्व शिक्षक इश्वरी ढकाल २८ वर्ष शिक्षण पेशामा संलग्न थिए । उनी निमावि भैरवपुरमा पढाउँथे । उनी प्रधानाध्यपक बनेर ३ वर्ष काम पनि गरे । “विद्यालयमा राजनीति कार्यकर्ता भएर कहिल्यै प्रस्तुत भएन”, उनले भने, “स्वेच्छिक अवकास लिएपछि राजनीतिमा रुचि बढ्यो ।” सामाजिक काममा रुचि भएकाले जनप्रतिनिधि भएर काम गर्न दिएको उम्मेद्वारीलाई स्थानीले जिताएको बताए । “धेरै विद्यार्थीको भविष्य बनाइयो”, उनले भने, “अब माडीको भविष्य बनाउने जिम्मा आएको छ, पुरा गर्छौँ ।”
माडी ८ को वडाध्यक्षमा विजयी बनेका कृष्णराज अधिकारी ३२ वर्ष शिक्षण पेशमा आवद्ध थिए । उनी राप्रवी दक्षिण अयोध्यापुरीको प्रधानाध्यापक बनेर २३ वर्ष काम गरे । “पढाउँदा नेता बनिएन”, उनले भने, “अब नेताका रुपमा जनताले चुनेका छन्, गाउँको विकासमा प्रतिवद्ध भएर काम गर्नेछु ।” पार्टी कार्यक्रममा सहभागि बन्न जादा विद्यालयमा पढाउने समयमैनै छाडेर नगएको स्मरण गर्दै भने, “गाउँको काम गर्न अब पूर्णकालिन राजनीति गर्नेछु, जनताका समस्या हल गर्न लाग्नेछु ।”
माडी ९ मा वडाध्यक्ष जितेका सुवेदी कृष्णनगर माविका पूर्वशिक्षक हुन् । माडी ७ मा जितेका सापकोटा कृतर्नपुर राप्रवीका पूर्व शिक्षक हुन् । माडी ४ बाट जितेका महतो २०६५ सालमा अनिवार्य अवकास पाएका शिक्षक हुन् ।
मेयर, उपमेयरलाई सपथ आज
निर्वाचन अधिकृतको कार्यालय माडीले स्थानीय तहको निर्वाचनबाट विजयी भनेका माडीका मेयर तथा उपमेयरलाई आज(शनिबार) सपथ गराउने जनाएको छ । निर्वाचन अधिकृत इन्द्रकुमारी थपलियाले विहान १० बजेपछि मुख्य पदमा विजयी उम्मेद्वारलाई सपथ गराइने कार्यक्रम रहेको जानकारी दिइन् । मेयर तथा उपमेयरले सपथ लिएपछि वडाध्यक्ष तथा सदस्यहरुलाई सपथ गराउने छन् । माडी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाल ३ हजार ८७३ मत ल्याएर विजयी बनेका थिए । उममेयरमा एमालेका तर्फबाट तारा काजीमहतो ४ हजार ६९० मत ल्याएर विजयी बनेका थिए ।
विजयी जुलुसमा मेयर
माडी नगरपालिकाको मेयरमा विजयी भएका ठाकुरप्रसाद ढकाल सहितको निर्वाचित समूहले माडीमा विजयी जुलुस निकालेको छ । बसन्तपुरमा रहेको सहिद स्तम्भमा माल्यपर्ण गरेर सुरु भएको ¥याली माडीको वनकट्टादेखि बगईसम्म पुगेको थियो । ¥यालीमा माडीका स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो । माओवादी केन्द्रबाट जितेका जनप्रतिनिधि ¥यालीमा सहभागि भएका थिए । ¥यालीमा माओवादी नेता अमिक शेरचन, सूर्य सुवेदी ‘पथिक’, माओवादी माडी नगर इञ्चार्ज प्रभु महतो, माडी नगर संयोजक ऋषि काफ्ले सहभागी थिए ।