मकवानपुर, १५ माघ ।
हेटौंडामा सोमबार भएको शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगितामा काभ्रे धुलिखेलको सेतीदेवी मावि प्रथम भएको छ ।
शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशको आयोजनामा भएको प्रदर्शनीमा चितवनको सैनिक आवासीय महाविद्यालय खैरहनी द्वितीय र सिन्धुपाल्चोको कृष्णरत्न गंगा मावि तृतीय भएका छन् । यस्तै धादिङको पासाङचोक महादेव मावि सान्त्वना भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयले क्रमशः ३० हजार, २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे । बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले उक्त विद्यालयहरुलाई पुरस्कार प्रदान गरेकी थिइन् ।
प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका एक/एकवटा माध्यमिक विद्यालयको प्रदर्शनी राखिएको थियो । १ जना मेन्टर शिक्षक र २ जना विद्यार्थीले सहभागिता जनाएका प्रदर्शनीमा विद्यालयले सामाजिक, विज्ञान, गणित, नेपाली र अंग्रेजी त्रिआयामिक शैक्षिक सामग्रीहरु, मोडेल र विभिन्न अवधारणालाई मूर्तरुप दिने व्यवहारिक सामग्रीहरु प्रदर्शनी गराएका थिए । सहभागी १३ वटा विद्यालयका विद्यार्थी र शिक्षकलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
शिक्षा विकास निर्देशनालय हेटौंडाका महानिर्देशक खुबीराम अधिकारीको अध्यक्षतामा तथा मन्त्री खड्गीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा समितिका सदस्य सचिव पवित्रा तिमल्सेना, सदस्यहरु बालकुमार श्रेष्ठ, सुवास खनाल, सरस्वती अधिकारी, निर्देशनालयका सूचना अधिकारी धनश्याम खनाललगायतको सहभागिता रहेको थियो ।