चितवन, १३ माघ ।
विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालित चितवनको ‘ए’ ग्रेडको विद्यालय अङ्कुरम् एकेडेमीमा ‘बालबालिकाको सिकाइ र वृद्धिका लागि सन्तुलित र सकारात्मक घर निर्माण’ सम्बन्धी अभिभावक अभिमुखीकरण गरिएको छ ।
‘एजुकेसन फर द नेक्स्ट जेनेरेसन’ का कार्यकारी अधिकृत कविता अर्यालले बालबालिकाको समुचित विकासका लागि अत्यावश्यक सूत्रहरु समेटिएको फलदायी अभिभावक–केन्द्रित तालिम प्रदान गरेकी थिइन् । उनले विद्यालयमा सञ्चालित अभिमुखीकरणमा बालबालिकाको सर्वाङ्गीण विकासका लागि उनीहरुको उचित हेरचाहलाई केन्द्रबिन्दुमा राखेर अभिभावकले काम गर्नुपर्ने बताइन् ।
‘अभिभावक समस्या होइन समाधानको हिस्सा बन्नु पर्छ । उनीहरुको भविष्य कस्तो बनाउने भन्ने कुरा हाम्रो व्यवहारमा भर पर्छ’ अर्यालले भनिन्, ‘बालबालिकाले आमाबाबुको व्यवहारलाई पछ्याउँछन् । तिनीहरु आफ्ना आमाबाबुको फोटोकपीजस्तै हुन्, हामीले प्रयोग गर्ने शब्दहरू, हाम्रा अभिव्यक्ति र प्रतिक्रियाहरुमार्फत उनीहरुले सिकिरहेका हुन्छन् ।’
अहिले समय फेरिइसकेको बताउँदै उनले अहिलेका ‘जेन अल्फा’ पिँढीका बालबालिकालाई सम्झाउन वा उनीहरुबाट पुरानो समयको जस्तै आज्ञाकारिताको आशा गर्न नसकिने तर विद्यालय र अभिभावकको प्रयासले जिम्मेवार वा जवाफदेही भने बनाउन सकिने बताइन् । बच्चालाई दबाब दिन नहुने बताउँदै उनले अध्ययनको महत्त्व बुझाएर पढ्न लगाए मात्र फलदायी हुने बताइन् ।
बालबालिकाको वृत्तिविकासका लागि विद्यालयसँग कुनै जादुको छडी नहुने बताउँदै प्रशिक्षक अर्यालले यसमा अभिभावक, शिक्षक र बालबालिका सबैले मिलेर काम गर्नुपर्ने बताइन् । अभिभावकहरुलाई विभिन्न व्यवहारिक अभ्यासमार्फत् प्रशिक्षण प्रदान गरिएको उक्त कार्यशालामा बालबालिकाको पालनपोषण र उनीहरुलाई हुर्काउन आमा र बुबाको भूमिका महत्त्पूर्ण हुने उनको भनाइ थियो ।
उनले ज्ञान फराकिलो पार्न कि त किताब पढ्नुपर्छ या भ्रमण गर्नुपर्छ भन्दै घरमा अभिभावकले पनि पढ्नुपर्ने र बालबालिकालाई पनि पढ्न प्रोत्साहन गर्नुपर्ने बताइन् । आफ्ना बालबालिकालाई अन्य बच्चाहरुसँग तुलना गर्दा नकारात्मक असर पर्ने बताउँदै उनले बच्चाहरुप्रति कहिल्यै पनि नकारात्मक टिप्पणी गर्न नहुने बताइन् ।
प्रशिक्षक अर्यालले अधिकांश बालबालिकामा समस्याको रुपमा रहेको जङ्क फुडप्रतिको आकर्षण पूर्णरुपमा हटाउन घरमा बनाइएका खानामा जोड दिनुपर्ने बताइन् । उनले बालबालिकाको उक्त बानी बिस्तारै हटाउन सकिने बताइन् । उनले भनिन्, ‘हामीमा समानुभूति हुनु आवश्यक छ । मानव हुनुको नाताले अरुको हेरचाह गर्न पर्छ ।’