मकवानपुर, १३ माघ ।
मकवानपुरकाे हेटौंडामा ‘कथा चौतारी : सिर्जना, सपना र प्रेरणाको मेल’ कार्यक्रमको शुरु गरिएकाे छ । आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा रहेकाे मकवानपुर बाल विद्या सदन विद्यालयमा सुरु भएकाे कार्यक्रम ४ दिनसम्म सञ्चालन हुने छ ।
कक्षा १ देखि ५ सम्मका बालबालिकाको सिर्जनात्मकता प्रस्तुत गर्ने विशेष मञ्चकाे रुपमा कार्यक्रम सुरु गरिएकाे विद्यालयका प्रधानाध्यापक सुदीपराज गिरीले जानकारी दिए । ‘कथाहरू मानिसको जीवनलाई समृद्ध बनाउने अद्भुत साधन हुन्’ उनले भने ‘यस सोचलाई व्यवहारमा उतार्दै विद्यालयले ‘कथा चौतारी’ कार्यक्रमको अवधारणा अघि सारेको हो ।’ कार्यक्रम शिक्षकमाथि गरिएको विशेष कथा लेखन तालिमबाट सुरु भएको छ । तालिमले शिक्षकहरूलाई कथा लेखनको सिप सिकायो, जसलाई उनीहरूले कक्षाकोठामा विद्यार्थीहरूसँग अभ्यास गराए । यसले बालबालिकाको सोच, कल्पनाशक्ति, र लेखन क्षमतालाई प्रोत्साहन गरेको छ ।
बालबालिका, शिक्षक, र अभिभावकबीचको सम्बन्धलाई सिर्जनशीलताका माध्यमबाट थप बलियो बनाउने कार्यक्रमको उद्देश्य रहेकाे छ । ‘कार्यक्रमले बालबालिकालाई आफ्ना सपना र सिर्जनाहरू अभिव्यक्त गर्न प्रेरित गर्नेछ’ प्रिन्सिपल गिरीले भने । मञ्चले उनीहरूको प्रतिभा उजागर गर्दै उनीहरूको कथा भन्न सक्ने आत्मविश्वास निर्माण गरेको उनले बताए ।
कार्यक्रमको पहिलो दिन आइतबार कक्षा १ का विद्यार्थीले आफ्ना कथा रचनाहरू प्रस्तुत गरेका छन् । बाल्यकालका सरल कल्पनाहरूले अभिभावकहरूलाई भावुकसमेत बनाएकाे थियाे । कार्यक्रममा सोमबारबाट कक्षा २ देखि ५ सम्मका विद्यार्थीले आ-आफ्ना कथा रचनाहरू प्रस्तुत गर्दै यात्रालाई अझ रोचक र प्रेरणादायी बनाउने साहित्यकार एवम् पठन संस्कृति विकासका अभियन्ता छविलाल श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमले आफ्ना बालबालिकाको सिर्जनशीलता र क्षमता नजिकबाट अनुभव गर्ने अवसर प्रदान गरेकाे अभिभावकहरूले प्रतिक्रिया दिएका छन् । एकजना अभिभावकले भने, “कुनै मञ्चमा उभिनु बालबालिकाका लागि चुनौतीपूर्ण कुरा हो । तर यस कार्यक्रममा उनीहरूले देखाएको आत्मविश्वास, जसले उनीहरूलाई आफ्ना विचार अभिव्यक्त गर्न प्रोत्साहित गर्यो, हाम्रो लागि निकै प्रेरणादायी रह्यो । यो विद्यालयको सैद्धान्तिक शिक्षाभन्दा परको मूल्यवान योगदान हो ।”
‘कथा चौतारी’ सिर्जना र प्रेरणाको मात्र मञ्च होइन, यो विद्यालय, बालबालिका र अभिभावकबीचको सम्बन्धको एउटा अद्भुत कथा पनि हो । शिक्षकमाथि गरिएको तालिम र बालबालिकाले प्रस्तुत गरेको अनमोल सिर्जनाले विद्यालयको शिक्षण प्रणालीमा एउटा नवीन अध्याय थपेको छ’ प्रिन्सिपल गिरीले भने । उनले ‘कथा चौतारी’ मकवानपुर बाल विद्या सदन विद्यालयको हस्ताक्षर कार्यक्रमका रूपमा विकसित हुँदै जानेछ बताए । ‘बालबालिकाको प्रतिभा उजागर गर्ने मात्र होइन, कथाको शक्ति र जीवनका लागि यसको महत्त्वलाई पनि अझ प्रस्ट्याएको छ’ उनले भने ‘विद्यालयले यस कार्यक्रमलाई हरेक वर्ष अझ सुदृढ र विस्तारित रूपमा आयोजना गर्ने लक्ष्य राखेको छ ।’
‘जसरी हरेक मानिसका जीवनमा कथा महत्त्वपूर्ण स्थान राख्छन्, त्यसरी नै ‘कथा चौतारी’ बालबालिकाको सिर्जना र प्रेरणालाई सजीव बनाउने यो विशेष प्रयास अविस्मरणीय रहिरहनेछ’ श्रेष्टले भने ।
विद्यालयका संस्थापक सुदीपराज गिरीकाे अध्यक्षता तथा साहित्यकार एवम् पठन संस्कृति विकासका अभियन्ता छविलाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा विद्यालयको शिक्षक, अभिभावक संघका सदस्य आइतमान नेगीलगायत अभिभावकहरूको सहभागिता रहेकाे थियाे ।