चितवन, १३ माघ ।
भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने तामाङ समुदाय मञ्जुश्री सम्वत् २८६१औँ सोनाम ल्होछारको तयारीमा जुटेको छ । भरतपुर नगर तामाङ समाजले भरतपुर–११, भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बामा माघ १७ गते सोनाम ल्होछार आयोजना गर्न लागेको हो ।
सोनाम ल्होछारबारे जानकारी दिन आइतबार गुम्बा परिसरमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै भरतपुर नगर तामाङ समाजका अध्यक्ष इन्जिनियर सूर्यप्रकाश लामाले विविध कार्यक्रमको आयोजना गरी ल्होछार मनाउन लागिएको जानकारी दिए ।
भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल प्रमुख अतिथि रहने ल्होछार कार्यक्रममा गायक योगेश लामा र गायिका मिङ्स लामाको प्रस्तुति रहने छ । ल्होसारको अवसरमा खेलकुद, रक्तदान र स्वास्थ्य शिविरको समेत आयोजना गरिएको अध्यक्ष लामाले बताए ।
भरतपुर नगर तामाङ समाजका पूर्वअध्यक्ष गंगा लामाले भाषा र संस्कृतिको संरक्षणका लागि आफूहरुले बर्सेनि सोनाम ल्होछार कार्यक्रम आयोजना गर्दै आएको बताए । यस्ता पर्वहरुले संस्कृतिको जगेर्ना गर्नुका साथै सामाजिक एकता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
तामाङ समाजले चाडपर्व मनाउँदा तडकभडक नगरी सामाजिक सद्भाव कायम राख्दै हर्षोल्लासपूर्वक मनाउन ल्होछारप्रेमी जनसमुदायलाई अनुरोध गरेको छ ।