माडी, १३ माघ ।
माडी नगरपालिका वडा नम्बर ९ मा रहेको गणेश आधारभूत विद्यालय गणेशकुञ्जका विद्यार्थीहरूलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । भरतपुरस्थित रोट्र्याक क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ नारायणी मिड टाउनको संयुक्त आयोजन र महालक्ष्मी ट्रायल सेन्टरको विषेश सहयोगमा विद्यालयका सम्पूर्ण विद्यार्थीलाई झोला तथा स्टेसनरी सामग्री प्रदान गरिएको हो ।
सोही अवसरमा त्यहाँका छात्रहरूको निःशुल्क कपाल काट्ने कार्यक्रमसमेत भएको छ । कपाल काट्ने कार्यक्रमको सहजीकरण भरतपुरस्थित कोसिस सलुन एण्ड एकेडमीले गरेको थियो । रोटरी क्लब अफ नारायणी मिड टाउनले माडीका विभिन्न क्षेत्रमा विभिन्न समयमा सेवामूलक कामहरू गर्दै आएको छ । ग्लोबल ग्रान्ट अन्तर्गत अयोध्यापुरी हेल्थ पोस्टमा डेनमार्कको रोटरी क्लब र नारायणी मिटाउन मिलेर १ करोडभन्दा बढीको सामग्रीहरु हस्तान्तरण गरेको छ भने बाढीपीडित पौवारी टोलमा पाँचवटा समुदायिक शौचालय निर्माण गरेको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल लम्सालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा रोटरी क्लबका पूर्वअध्यक्ष अनिल थपलिया, रामचन्द्र लम्साल, प्रकाश पौडेल, रोट्र्याक क्लब अफ नारायणी टाउनका अध्यक्ष राजीव घिमिरेलगायतको उपस्थिति रहेको थियो ।