भरतपुर, १० माघ ।
१५ औँ संस्करणको चितवन महोत्सव २०८१ भव्यताका साथ सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा पुष २५ गतेदेखि सुरु भएको महोत्सव बिहीबार साँझ समापन गरिएको हो ।
संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीले १५ दिनअघि महोत्सवको उद्घाटन गरेका थिए । वागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा र वन तथा वातावरण मन्त्री कृष्ण सिलवालको उपस्थितिमा आज साँझ महोत्सवको समापन गरिएको हो ।
महोत्सव मूल समिति संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले महोत्सवको समापन गर्दै महोत्सव ऐतिहासिक रूपमा सफल भएको बताए ।
महोत्सव अवधिभर ५ लाख जनाले सहभागिता जनाएको र ३० करोड रुपैयाँ बराबरको कारोबार भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । लक्ष्य अनुसारकै सहभागिता र कारोबार भएको भन्दै अध्यक्ष श्रेष्ठले समापन समारोहमा खुसी व्यक्त गरे । महोत्सव सफल पार्न भूमिका निर्वाह गर्ने सम्पूर्णलाई उनले धन्यवद ज्ञापन पनि गरे ।
समापन समोरोहमा एक चिनियाँ प्रदर्शक र एक स्वदेशी प्रदर्शकले आफ्नो धारणा राख्दै महोत्सवमा साचे जस्तो सफलता प्राप्त गरेको बताए । समापन समारोहमा प्रदर्शकहरूबाट दुई प्रतिनिधि, अध्यक्ष र प्रमुख अतिथिले मन्तव्य राखेका थिए ।
परम्परागत खाना र पर्यटनलाई प्रवर्द्धन गर्ने हेतुले नारायणगढको क्याम्पाचौरमा नेपा पुचः नारायणगढसँगको सहकार्यमा पौष २९ देखि माघ ७ गतेसम्म सञ्चालित क्याम्पाचौर फुड फेस्टिवल पनि सफलताका साथ सम्पन्न भएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
यस पटकको महोत्सव पृथक : अध्यक्ष श्रेष्ठ
महोत्सवमा रोजगार मेला, हार्डवेयर्स एक्सपो, मह परिसर, अटो परिसर, रेष्टुरेन्ट परिसर, फन पार्क, चाईना एक्सपो, लघु, घरेलु परिसर, कृषि परिसर लगायत ४३० स्टलहरू राखिएका थिए ।
विगतका १४ वटा महोत्सवको तुलनामा यस पटकको महोत्सव पृथक बनेको अध्यक्ष श्रेष्ठले बताए ।
महोत्सव अवलोकनकर्ता र प्रदर्शकबाट संकलित पृष्ठपोषणलाई अध्ययन गर्दा करिब ९० प्रतिशत अवलोकनकर्ताहरू महोत्सवमा भएका क्रियाकलापबाट पूर्ण सन्तुष्ट भएको श्रेष्ठले जानकारी गराए ।
महोत्सवको माध्यमबाट उद्योग व्यवसायको प्रवर्द्धन भएको श्रेष्ठले बताए । “कला, साहित्य र संस्कृतिको संरक्षण, आदिवासी जनजातिहरूको परम्परा, रीतिरीवाज र भेषभूषाहरूको जगेर्नाका साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा, सूचना प्रविधि र पूर्वाधार लगायतका क्षेत्रको विकासमा सम्भावनाको ढोका खोल्न पनि महोत्सवले भूमिका खेलेको छ,” श्रेष्ठले भने।
महोत्सवलाई आगामी दिनमा अझ बढी प्रभावकारी र समयानुकूल बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको पनि उनले औँल्याए ।
चितवन महोत्सवमा आयोजित विभिन्न गोष्ठीमा प्राप्त सुझाव र सल्लाहलाई छिट्टै नै सम्बन्धित निकायमा सम्प्रेषण गरिने पनि अध्यक्ष श्रेष्ठले बताए ।
वागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले स्वदेशमा उद्योगहरूको बिस्तार गरी स्वदेशमै वस्तुहरू उत्पादन गर्नुुपर्ने आजको आवश्यकता रहेको बताए । जसका लागि देशमा उद्योग व्यवसायमैत्री वातावरण बनाउनु पर्ने र त्यसका लागि प्रदेश सरकार लागिरहेको बताए ।
महोत्सवले स्वदेशी र स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा सहयोग गर्नुपर्ने बताउँदै मुख्यमन्त्री लामाले चितवन महोत्सव पनि यस कुरामा सफल बनेको विश्वास व्यक्त गरे ।
नदी किनारको दिगो व्यवस्थापनमा योजना ल्याउन जोड
बाढीले कुरुप बनाएको नारायणी नदी किनारलाई महोत्सव गर्नकै लागि उद्योग वाणिज्य संघ चितवनले सम्माएको अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
भरतपुर महानगरपालिकाले सम्माउने काममा सहयोग गरेकोे र थप सहयोग गर्ने आश्वासन समेत दिएको बताउँदै अध्यक्ष श्रेष्ठले नदी किनारको दिगो व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट पनि केही योजना ल्याउन मुख्यमन्त्रीलाई आग्रह गरेका छन् ।