भरतपुर, ५ माघ ।
चितवनमा ११७ औँ युद्धप्रसाद मिश्र जन्मजयन्ती स्रष्टा सम्मान र उहाँको विषयमा परिचर्चा गरी मनाइएको छ ।
साहित्य सङ्गम चितवनको आयोजनामा वरिष्ठ छन्दकवि गोविन्द विनोदीलाई महाकाव्यकार लकाश पौडेलद्वारा स्थापित ‘पं. नीलकण्ठ स्मृति राष्ट्रिय काव्य विशारद सम्मान २०८१’ पुरस्कार रु. २० हजार, कवयित्री सरिता तिवारीलाई साहित्यकार रेवतीरमण खनालद्वारा स्थापित खिमा-केशरीरमण राष्ट्रिय पुरस्कार रु. १५ हजार र निबन्धकार चिरञ्जीवी दाहाललाई महाकाव्यकार पोषराज पौडेलद्वारा स्थापित डिल्लीराम-धनसरा राष्ट्रिय पुरस्कार रु १५ हजार अर्पण गरिएको छ ।
कार्यक्रमको अध्यक्षता सङ्गमका अध्यक्ष प्रकाश चापागाईंले गर्नु भएको थियो भने विशेष अतिथिका रूपमा प्राज्ञ ईन्द्र रेग्मी हुनुहुन्थ्यो । युद्धप्रसाद मिश्रका बारेमा डाक्टर धनेश्वर भट्टराईले चर्चा गर्नुभयो भने पुरस्कृत स्रष्टाको परिचय प्राध्यापक कपिल अज्ञात, प्राडा कर्ण बानिया र गजलकार केशवराज आमोदीले गर्नुभएको थियो ।