भरतपुर, ४ माघ ।
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणी नदी किनारमा भइरहेको १५औँ चितवन महोत्सवमा शनिबार लोक तथा दोहोरी गायक शिरीष देवकोटाले प्रस्तुति दिने भएका छन् । दशौँ दिनको कार्यक्रम तालिका अनुसार देवकोटाको प्रस्तुति बिहान ११ बजेदेखि सुरु हुनेछ । देवकोटाका म त आउने थिइनँ, दुर्गा हौ कि भवानी, नजरैको भर लगायत गीत सर्वाधिक रुचाइएका छन् ।
यस्तै शनिबारदेखि नै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता सुरु हुने महोत्सव प्रवर्द्धन समिति संयोजक राजेन्द्र ओलीले जानकारी दिएका छन् ।
जादुगर बलराम सरकारले पनि भोलि नै आफ्नो जादुगरी पेश गर्दे छन् भने स्थानीय कलाकार विक्रम क्षेत्री, टिकाराम ढकाल, जुना डिसी र सरिता गुरुङले पनि दर्शकसामु प्रस्तुति राख्ने छन् ।
त्यसैगरी नारायणी कला मन्दिर नारायणगढ, नेपाल पुलिस कलाकार काठमाडौं, तमु ह्युला छोंज धि चितवन, नेपाल मगर संघ चितवन, पुन समाज नेपाल चितवन र नेपाल तामाङ धेदुङ चितवनका कलाकारहरूबाट नृत्य प्रस्तुति हुने आयोजकले जनाएको छ ।
पुष २५ गतेदेखि सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।
नवौँ दिनसम्म महोत्सवलाई ३ लाख ५० हजारले अवलोकन गरेका छन् ।
चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुनेछ । फुड फेस्बिटलमा समेत विविधि सांस्कृतिक कार्यक्रम भइरहेका छन् ।