मकवानपुर, २८ पुस ।
मकवानपुरे लोकगायक सोमबहादुर घलान हेटौंडामा सम्मानित भएका छन् । शनिबार वासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरले घलानलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
‘आलु र तामा हजुर छेपारोलाई जामा भ्यागुतोलाई स्टकोट…’ गीतका गायक पछिल्लो समय बिमारी छन् । उनलाई बिमारी अवस्थामै कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा तथा प्रतिष्ठान अध्यक्ष आरसी रिजाललगायतले सम्मान गरेका थिए । घलान शिक्षण पेशाका साथै संस्थानमा रोजगारी गरी रातोमाटे गाउँ पञ्चायतका अध्यक्ष समेत भएका थिए । घलानको स्वरमा रहेको उक्त गीत रेडियो नेपालमा रेकर्ड भएको छ ।
यसैगरी कार्यक्रममा समाजसेवी कृष्णप्रसाद नेपाललाई १५ हजार रूपैयाँ राशिको सम्मानबाट सम्मानित गरिएको छ । प्रतिष्ठानले हेटौंडा उपमहानगरपालिकाकाे सहयाेगमा हेटौंडका प्रथम प्रधान पञ्च वासुदेव रिजालकाे स्मृतिमा ग्रन्थ प्रकाशन गरेकाे छ । भैरवीदेवी रिजाल संरक्षक रहनु भएको प्रतिष्ठानद्वारा प्रकाशित गरिएकाे वासुदेव रिजाल स्मृति ग्रन्थकाे कार्यक्रममा विमोचन गरिएकाे थियो । स्मृति ग्रन्थकाे सम्पादन साहित्यकार निमेष निखिलले गरेका छन् । स्मृति ग्रन्थमा विभिन्न क्षेत्रका ३१ व्यक्तिद्वारा वासुदेव रिजालका बारेमा लेखिएका सस्मरण समावेश छन् ।