मकवानपुर, २७ पुस ।
मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएकाे छ । कार र स्कारपियाे एक आपसमा ठोक्किएर भएकाे दुर्घटनामा १४ जना घाइते भएका मध्ये कार चालककाे मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार दुर्घटनामा कार चालक मकवानपुर हेटौडा–४ स्कुलरोड बस्ने वर्ष ६० को सुरेन्द्र लाल श्रेष्ठको मृत्यु भएको हो । दिउँसो ३ बजेको समयमा चितवन स्थित एलाईभ अस्पताल भरतपुरमा उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको अर्यालले बताए ।
शनिबार दिउँसो १ बजेको समयमा मनहरी गाउँपालिका–६ डिपार्टस्थित पूर्व पश्चिम सडक खण्डमा स्कर्पियो र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा १४ जना घाइते भएका थिए । प्रहरी नायव उपरिक्षक अर्यालका अनुसार वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कारपियो र चितवन बाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा कारमा सवार चितवन राप्ति नगरपालिका–२ गड्यौली बस्ने वर्ष ५५ को ओम कुमार श्रेष्ठ सोही स्थान बस्ने वर्ष ५० की सुनिता श्रेष्ठ, वर्ष २१ की सुमिना श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा स्कार्पियोमा सवार पर्सा वीरगंज महानगरपालिका–२ छपकैया बस्ने २६ वर्षीया पुजा देवि शाह, निजको छोरी वर्ष ८ की प्रियान्सि शाह, सोही स्थान बस्ने वर्ष २३ की सुरदी देवी, वर्ष २१ की निशा कुमारी शाह, वर्ष १५ को ओम शंकर शाह, वर्ष १९ को राजिव कुमार शाह, वर्ष १९ की आरती कुमारी शाह, वर्ष ४ की दिव्या कुमारी शाह, वर्ष १६ को सरोज शर्मा र वर्ष १९ की रोशनी शर्मा घाइते भएको प्रहरी नायव उपरिक्षक अर्यालले बताए । उनीहरुको चितवन स्थित एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ तथा अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।