भरतपुर, २५ पुस ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग व्यवसायको संरक्षणका लागि ब्याजमा सुविधा दिइनुपर्नेे बताएका छन् । नारायणी किनार नारायणगढमा बिहीबार चितवन महोत्सव २०८१ को उदघाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
“नवीनतम सोचका साथ न्यून ब्याजमा युवाहरुलाई लगानीको वातावरण तयार गर्नुपर्छ भनेर सरकारले गृहकार्य सुरु गरिसकेको छ’’, उनले भने, “आन्तरिक र बाह्य लगानीका बाधक ऐन संशोधन गरेर हामी अगाडि बढ्दैछौं । लगानीमैत्री वातावरण बनाउँदै छौं ।’’
मन्त्री भण्डारीले रिमोटबाट पानसमा दीप प्रज्ज्वलन गर्दै महोत्सवको उद्घाटन गरेका थिए । उनले महोत्सवको अवसरमा प्रकाशित स्मारिका विमोचनसमेत गरे । महोत्सवको उद्घाटनपूर्व नारायणगढ बजारमा शोभायात्रा निकालिएको थियो ।
शोभायात्रामा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु ब्यानरसहित सहभागी भएका थिए । शोभायात्रामा विभिन्न विद्यालयका विद्यार्थी, आयोजक संस्थाका पदाधिकारीलगायत सहभागी थिए । नेवार समुदायले जातीय पहिचान झल्कने पोशाकसहित सहभागिता जनाएका थिए । उनीहरुले लाखेनाचसमेत प्रदर्शन गरेका थिए ।
चितवन महोत्सवमा सात वटा विशेष स्टल, कृषि परिसर, अटो परिसर, निर्माण सामग्री व्यवसायीहरुसँगको सहकार्यमा निर्माण एक्स्पो, रेस्टुरेन्ट परिसरसहित ४ सय ३० वटा स्टल रहने छन् । करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको चितवन महोत्सवमा ३० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।