देवघाटधाम, २४ पुस ।
प्रसिद्ध धार्मिकस्थल देवघाटधाम तनहुँमा अवस्थित ‘महेश-संस्कृत-गुरुकुलम्’को आयोजनामा यही पुस २९ गते सोमबार `मकर-काव्य-यामिनी´को २२औँ शृङ्खला आयोजना हुने भएको छ ।
भावको स्निग्ध धागोमा शब्दका फूल गाँस्दछिन् ।
कविका मनमा रम्दै यामिनी मस्त हाँस्दछिन् ।।
शब्दउद्यानका माली! अलङ्कारसुवासिनी ।
काव्यका पारखी ! ‘आऊ’ भन्दछिन् काव्य-यामिनी ।।
दुई दशकदेखि निरन्तर सञ्चालन हुँदै आएको मकर काव्य यामिनीको २२औँ श्रृङ्खला लेखनाथ साहित्य प्रतिष्ठानको विशेष उपस्थिति र आतिथ्यमा सञ्चालन हुनेछ । साथमा चितवन, मकवानपुर, कास्की, नवलपरासी र उपत्यकाका काव्यसाधकहरूको उल्लेख्य उपस्थिति हुनेछ । गुरुकुलका नव प्रतिभाहरु सधैँ झैँ महोत्सवको आकर्षणका रुपमा रहनेछन् ।
महेश संन्यास आश्रमका संस्थापक ब्रह्मलीन स्वामी रामानन्द गिरिजी महाराजको सत्प्रेरणामा कविवर गोविन्दराज विनोदी, महेश गुरुकुलका आचार्य डा.गुरुप्रसाद सुवेदी, बुद्धिनाथ अधिकारी र छात्रहरुको सक्रियतामा वि. सं.२०६० बाट प्रारम्भ भएर निरन्तर सञ्चालन हुँदै आएको मकर-काव्य-यामिनी राष्ट्रियस्तरको काव्यिक महोत्सव हो । राष्ट्रकवि तथा विभिन्न राष्ट्रियस्तरका कवि, साहित्यकार तथा विशिष्ट विद्वान्हरूको उपस्थिति रहँदै आएको कार्यक्रम पुस महिनाको अन्तिम साँझबाट माघको बिहानसम्म सञ्चालन हुने गर्दछ । मकर संक्रान्तिको पूर्व सन्ध्यामा सञ्चालन हुने भएकाले यस कार्यक्रमको नाम मकर-काव्य-यामिनी राखिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा विशिष्ट स्रष्टा एवं साहित्यानुरागी स्रोताहरूलाई सादर निमन्त्रणा गरिएको छ ।
यामिनीले मध्य नेपालको साहित्यिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको छ । यामिनीले जन्माएका कुशल स्रस्टा र साहित्यिक कार्यक्रमहरुले राष्ट्रियस्तरमा समेत महत्त्व राख्ने गर्दछन् । माघ १ गते देवघाटमा लाग्ने माघेसङ्क्रान्ति मेलामा तीर्थस्नान गर्नुपूर्व अघिल्लो रात काव्यरसपान गर्न पाउनुलाई सुअवसरका रुपमा लिने गरिएको छ । देवघाट धार्मिक, आध्यात्मिक र शैक्षिक क्षेत्रका साथसाथै साहित्यिक क्षेत्रको उर्वर भूमिका रूपमा परिचित गराउन मकर-काव्य-यामिनी सफल भएको छ ।
विगतका वर्षहरुमा जस्तै सम्पूर्ण काव्यप्रेमी साहित्यानुरागी स्रष्टा तथा दर्शक श्रोताहरूलाई यामिनीमा सादर निमन्त्रणा गरिएको छ । सवारीसाधनबाट आउने व्यक्तिहरू रामनगर ठिमुराको पुल तथा जुगेडीको पुलबाट महेश संस्कृत गुरुकुलमा पुग्न सक्नेछन् । अन्य व्यक्तिहरू नारायणगढ आँपटारी हुँदै झोलुङ्गे पुलबाट गुरुकुल पुग्न सक्नेछन् । सबै अतिथिहरूलाई खाने र बस्ने व्यवस्था आयोजकले नै गर्नेछ ।
“सतत झुमिरहेझैँ मोह मायाविनीमा,
अनवरत डुबेझैँ भाव-मन्दाकिनीमा |
हृदयरस पगाल्ने भावकी मोहिनीमा,
सहृदयसँग मिल्दै पाल्नुहोस् यामिनीमा ॥“