मकवानपुर, २४ पुस ।
चितवन जिल्लाको कालिका नगरपालिका–८, गैरीवारीमा रुखबाट लडेर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीय रामबहादुर चेपाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
गत बुधबार दिउँसो २ बजेको समयमा चेपाङ घर नजिकै रहेको अमिलिया जंगलमा टाटरीको घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका थिए । घाइते चेपाङलाई उपचारका लागि सरकारी अस्पताल भरतपुरमा लगिएको थियो । उपचारको क्रममा चेपाङको मंगलबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका–१ बसुन्चेतमा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको खनियाबास गाउँपालिका–५ मावरका ८९ वर्षीय फैसिङ तामाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
तामाङ शुक्रबार छोरीको घर धादिङ सेमजुङ हिँडेकोमा मंगलबार दिउँसो १२ बजेको समयमा जंगलमा बाटोदेखि १५० मिटर तल भिरमा मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानको क्रममा तामाङले आखा राम्रोसँग नदेख्ने बुझिएको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि अस्पताल नुवाकोट लगिएको छ ।
सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२, बवलामा एक जना वृद्धा मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ७० वर्षीया नन्दमाया सुनुवार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सोमबार दिउँसो १ बजेको समयमा नन्दमाया घरमा कोहि कसैलाई नसोधी बेपत्ता भएकी थिइन् । नन्दमाया साँझासम्म घर नआएपश्चात परिवार तथा स्थानियहरुले खोज तलास गर्दै जाँदा मंगलबार बिहान ११ बजेको समयमा फिक्कल गाउँपालिका–४, शाखर खोलाको दोभान सुनकोसी नदीको किनारमा पानीमा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएकोे छ ।