चितवन, २४ पुस ।
माघे संक्रान्तिको अवसर पारेर भरतपुरमा यही शनिबार (पुस २७ गते) खुला कौराहा नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल मगर संघको भ्रातृ संगठन नेपाल मगर सांस्कृतिक संघ, चितवन शाखाले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
नेपाल मगर संघको कार्यालय नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी सांस्कृतिक संघले कौराहा नृत्य प्रतियोगिताबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्थाकी अध्यक्ष प्रेमकुमारी आलेमगरले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा पुस २७ गते प्रतियोगिता हुन गइरहेको बताइन् ।
प्रतियोगितामा लोकदोहोरी गायक अमर विरही गुरुङ, गायिका रञ्जिता थापामगर र गायक बलविक्रम थापामगर विशेष आकर्षण रहने छन् । प्रतियोगितामा पहिलो हुने समूहले ३५ हजार, दोस्रो हुने समूहले २० हजार, तेस्रो हुने समूहले १० हजार र चौथो हुने समूहले पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगितामा सहभागी हुनका लागि पाँच हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । २०७९ सालमा पहिलोपटक आयोजना गरिएको कौराहा नृत्य प्रतियोगितामा सात वटा समूह सहभागी रहेको र यस वर्ष १० वटा समूह सहभागी हुने अपेक्षा गरिएको छ । ‘चितवनका आठ वटा समूहले नाम दर्ता गराइसकेका छन्’ अध्यक्ष आलेमगरले भनिन्, ‘तनहुँ र नवलपुरबाट समेत समूह सहभागी हुने आशा गरेका छौँ ।’
नेपाल मगर संघ चितवनका अध्यक्ष लालबहादुर थापामगर प्रमुख अतिथि रहेको पत्रकार सम्मेलन सांस्कृतिक संघ चितवनका सचिव प्रकाश थापामगरले संचालन गरेका थिए । प्रमुख अतिथि लालबहादुरले कौराहा नृत्य चारदेखि १० जनासम्मले समूहमा नाच्ने जानकारी दिँदै प्रतियोगिताको सफलताको कामना गरे ।