दोलखा, २२ पुस ।
बागमती प्रदेश सभा सचिवालयको आयोजनामा दोलखाको जिरी नगरपालिकामा `बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षा´ विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
बागमती प्रदेश सभाका प्रमुख, सभामुख भुवन कुमार पाठक, उपसभामुख अप्सरा चापागाईं, प्रदेश सभा सदस्य उर्मिला सुनुवार, संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्का, जिरी नगरपालिका नगर प्रमुख मित्रबहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्कालगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा बागमती प्रदेश सभाले बनाएका विभिन्न कानुन र तिनका कार्यान्वयनका क्रममा स्थानीय तहमा उत्पन्न भएका समस्याहरू र तिनका समाधानका उपायहरूका बारे छलफल गरिएको थियो । कार्यक्रममा उपस्थित सहभागिहरूले स्थानीय तहको विकासमा प्रदेश सरकारले निर्माण गरेका कानुनको प्रभाव र आगामी रणनीतिहरूको बारेमा आफ्ना विचार राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेशको कानुन निर्माण गर्दा स्थानीय सरकारसँग समन्वय गरी कानुन निर्माण गर्दा प्रभावकारी हुने बताए । यस्तै उपसभामुख अप्सरा चापागाईंले स्थानीय तहको आवश्यकताअनुसार कानुनी परिमार्जनका लागि प्रदेश सभा तत्पर रहेको बताईन् । संविधान सभा सदस्य खिमलाल देवकोटाले समग्र कानुनी प्रणालीको सुधार र कार्यान्वयनमा पर्ने चुनौतीहरूलाई मर्मत गर्दै स्थानीय तहसँगको सहकार्यमा आगामी योजनाहरू अघि बढाउनु पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख र उपप्रमुखले स्थानीय समस्याहरू र अपेक्षाहरूलाई अवगत गराउँदै, प्रदेश सभासँग निरन्तर समन्वय र सहकार्यको महत्त्वलाई जोड दिएका थिए ।