चितवन, २२ पुस ।
मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने, साइलेन्सर झिकेर चर्को आवाज निस्कने गरी मोटरसाइकल चलाउने २४ जनामाथि कानुनी कारबाही हुने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यातायात व्यवस्था कार्यालय चितवनलाई पत्र लेखी कारबाहीको माग गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी निरीक्षक गायत्रीराज शर्माले यातायात व्यवस्था ऐन २०४९ को दफा ३९ को उपदफा १ बमोजिम स्वीकृति नलिई आफूखुसी स्वरुप परिवर्तन र ठुलो आवाज निस्कने गरी साइलेन्सर फेरबदल गरेको पाइएका मोटरसाइकल नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि प्रकृया अगाडि बढाइएको जानकारी दिए ।
मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने, साइलेन्सर झिकेर चर्को आवाज निस्कने गरी मोटरसाइकल चलाउने चालकमाथि विगतदेखि नै निगरानी गर्ने र नियन्त्रणमा लिने काम गर्दै आएको प्रहरी निरीक्षक शर्माले बताए । अहिले नियन्त्रणमा लिइएका चालकहरुलाई ऐन अनुसार सातदेखि १५ हजार रुपैयाँ जरिवाना हुने उनले जानकारी दिए ।
चर्को आवाजमा तीब्र गतिमा मोटरसाइकल चलाउने कार्य बन्द नभएको र पूर्णरुपमा नियन्त्रणमा लिने काम नभएको भन्ने गुनासो आएपछि ट्राफिक प्रहरीले आइतबार नारायणगढ र भरतपुर बजार क्षेत्रमा दुई घण्टा चेकजाँच गर्ने क्रममा ३० जनालाई नियन्त्रणमा लिइएको र तीमध्ये ऐन उल्लंघन गर्ने २४ जनाविरुद्ध कानुनी कारबाही अगाडि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका २४ वटा मोटरसाइकलमध्ये केहीले ह्याण्डल परिवर्तन गरेको र अधिकांशले साइलेन्सर परिवर्तन गरेको पाइएको छ । केही मोटरसाइकलको नम्बर प्लेट पनि ऐनले तोकेभन्दा फरक रहेको भेटिएको छ । यातायात व्यवस्था ऐनको उल्लंघन हुने गरी सवारी चलाउन नदिन भोलिका दिनमा पनि ट्राफिक कारबाही अगाडि बढाइने प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।