भरतपुर, २२ पुस ।
नारायणगढ जेसीजको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । आइतबार साँझ पुलचोकस्थित जेसिज भवनमा वर्ष २०२५ को कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो ।
प्रतिनिधि सभा सदस्य एवं पूर्व वनमन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नारायणगढ जेसीज वर्ष २०२४ का अध्यक्ष राजेन्द्र भट्टराईले वर्ष २०२५ का नवनिर्वाचित अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठलाई पद हास्तान्तरण गर्नुभयो । वर्ष २०२५ को अध्यक्षको पदभार ग्रहण गर्दै श्रेष्ठले कार्यदक्षता र क्षमताले सम्भव भएसम्म आफ्नो कार्यकाललाई सफल बनाउने बताउनुभयो ।
उहाँले जेसीजको स्वर्ण जयन्तिको समयमा नै आफू अध्यक्षमा निर्वाचित भएको भन्दै यो कार्यकाल विशेष रहने बताउनुभयो । वर्ष २०२५ लाई भव्य रुपमा सफल पार्ने श्रेष्ठले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जेसीजको मर्म र भावनालाई आत्मसात गर्दै अघि बढ्ने पनि बताउनुभयो । यस्तै अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा ‘दिगो विकासका लागि यवा नेतृत्व अभियान’ अघि बढाईने पनि बताउनुभयो । सोही अवसरमा नारायणगढ जेसीजको स्वर्ण महोत्सवको लोगो पनि अनावरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद भण्डारीले जेसीजका गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । जेसीजले युवा लक्षित विभिन्न कार्यक्रमहरु ल्याएर युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न प्रयास गरिरहेको पनि उहाँको भनाइ थियो । उहाँले जेसीजसँग सरकारले सहकार्य गर्न पर्ने धारणा राख्नुभयो ।
सरकारले नेतृत्व तहमा जेसीजका युवाहरुलाई अवसर दिन सके देश विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सांसद भण्डारीको भनाइ थियो । उहाँले वर्ष २०२५ का अध्यक्ष श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिँदै स्वर्ण महोत्सवको पनि भव्य सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा बोल्दै वर्ष २०२४ का अध्यक्ष राजेन्द्र भट्टराईले आफ्नो कार्यक्रलमा युवा लक्षित विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सोही अवसरमा भट्टराईले आफ्नो कार्यकाल सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरुलाई विभिन्न विधामा अवार्ड समेत वितरण गर्नुभयो ।
पुष ८, ९ र १० गते सम्पन्न नारायणगढ जेसीजको ४७ औँ शाखा अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । कार्यकारी उपाध्यक्षमा विपिन कंडेल र सुवास कंडेल, उपाध्यक्षमा प्रदीप पौडेल, विनोद अधिकारी, कमल बस्याल र सन्जिव पौडेल, निर्देशकमा सुशील सापकोटा, अश्विन पौडेल, सौगात देवकोटा र सुरज पण्डित चयन हुनुभएको थियो ।
यसैबीच पदभार ग्रहणसँगै अध्यक्ष श्रेष्ठले कार्यसमितिका विभिन्न पदमा मनोनित गर्नुभएको छ । जस अनुसार श्रेष्ठले सह कोषाध्यक्षमा बिनिशमान शाक्य, सह सचिवमा रुबल श्रेष्ठ, कोषाध्यक्षमा रामबाबु पुडासैनी, महासचिवमा कपिल श्रेष्ठ तथा कानुनी सल्लाहकारमा सन्तोष पण्डितलाई मनोनित गर्नुभएको हो ।