मकवानपुर, २२ पुस ।
मनहरी गाउँपालिकाले लैंगिकमैत्री वातावरण निर्माणको लागि दर्जनौँ कार्यक्रममार्फत अग्रसरता देखाएको पाईएको छ । गाउँपालिकाले बजेट निर्माण गर्दाको समयदेखि बजेट परिचालको अवस्थासम्म आफ्नो क्रियाकलापलाई नियमित सञ्चालन गर्दै आएको पाईएको हो ।
गाउँपालिकाले पछि पारिएका महिला, दलित, जनजाति, अति सिमान्तकृत महिला तथा अपाङ्गता भएको महिलाहरुको सवालमा सिपमुलक तालिमको व्यवस्था गर्दै उनीहरुलाई आत्मनिर्भर बनाउने पाटोमा आफ्ना कार्यक्रम तथा स्वरोजगारमुलक तालिमलाई नियमितता दिएको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षमा दलित तथा जनजातिको क्षेत्रमा १० लाख रुपैयाँ विनियोजन गरि उनीहरुको आर्थिकस्तर बढाउने सिपमुलक तालिम तथा नेतृत्व र व्यक्तित्व विकास तालिम सञ्चालन गरेको हो । गाउँपालिकाले गृहणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत २८ लाख रुपैयाँ खर्च गरेको जनाएको छ ।
मनहरी गाउँपालिकाको महिला तथा बालबालिका विकास शाखाकी प्रमुख शिला अधिकारीका अनुसार गाउँपालिकाले गत आर्थिक वर्षका गाउँपालिकाको सबै वडाहरुमा साबुन बनाउने तालिम, डल कुसन, अचार बनाउने लगायतको सञ्चालन गर्दै महिला तथा पछि पारिएको समुदायलाई आर्थिकोपार्जनको लागि सहयोगी भूमिका खेलेको छ ।
गाउँपालिकाले वडा नम्बर १, ७ र ८ मा समूह निर्माण गरेर पशुपालनमा अनुदान समेत वितरण गरेको उनले बताईन् । चालु आर्थिक वर्षमा पनि गाउँपालिकाले गृहणीको कार्यक्रमलाई २८ लाख र महिला तथा पछि पारिएको समुदायको सशक्तीकरणको लागि २३ लाख बजेट विनियोजन गरेर काम गरिरहेको छ ।
मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले आफूहरुले गाउँपालिकामा विजयी भएर आएपछि लैंगिकमैत्री वातावरण निर्माणको लागि मसिनो ढंगबाट लागिपरेको बताईन् । जवसम्म लैंगिकमैत्री वातावरण निर्माण हुन्न तबसम्म गाउँपालिकाले हरेक क्षेत्रमा सफलता हासिल गर्न सक्दैन भन्ने विषयलाई केन्द्रमा राखेर आफूहरुले कामलाई अघि बढाएको उनको भनाई छ ।
मनहरी गाउँपालिकाको अधिकांश ग्रामिण क्षेत्र गरिविको रेखामुनि रहेको, यहाँ अति सिमान्तकृत समुदायको समेत वसोबास रहेको बताउँदै उपाध्यक्ष मगरले आफूहरु यस विषयमा सचेत हुँदै बजेट निर्माण गरिएको बताईन् । यहाँ बनकरियादेखि चेपाङ समुदायहरुसम्मको बसोबास रहेको कारण उनीहरुलाई हेरेर सोही अनुसारको कार्यक्रमहरु निर्माण गर्ने गरिएको उपाध्यक्ष मगरको भनाई छ ।
गाउँपालिकाको स्रोत अनुसारको बजेट विनियोजन गर्नुपर्दा सोचे अनुसार ती क्षेत्रमा बजेट विनियोजन गर्न नपाए पनि मकवानपुरको अन्य गाउँपालिकाहरु भन्दा आफूहरुको पालिकामा बजेट विनियोजनको अवस्था सन्तोषजनक भएको उनले बताईन् । गाउँपालिकालाई केन्द्र र प्रदेशले दिने अनुदान र आफूहरुको आन्तरिक स्रोत अनुसारको बजेट व्यवस्थापन गर्नुपर्ने भएको कारण पनि ठ्याक्कै सोचे अनुसारको बजेट भने विनियोजन गर्न नसकिएको उनले बताईन् । मनहरी गाउँपालिकाले लोपोन्मुख, जनजाति, दलित, महिलाको क्षेत्रमा अन्य गाउँपालिका भन्दा उत्कृष्ट काम गरिरहेको उपाध्यक्ष मगरको दाबी छ ।
आफूहरु जेसी नीति अनुसार अघि बढेको बताउँदै उनले गत वर्षको जेण्डर अडिट समेत गरिएको बताईन् । जेसी अवधारणालाई लागू नगरेसम्म समान सहभागिता र शुसासन कायम हुन नसक्ने भन्दै यो विषयमा आफूहरु निकै गम्भिर रहेको उनको भनाई रहेको छ । महिलाहरुलाई उत्पादनमुलक कार्यमा लगाउनसके मात्र घरेलु हिंसाको घटनामा कमि आउने ठानेर आफुहरुले प्रत्येक वर्ष ति क्षेत्रमा आवश्यक बजेट विनियोजन गरेको र त्यसको परिणाम पनि सकारत्मक देखा पर्दै आएको उनको भनाई छ ।
कर्मचारी तहमा भने छैन लैंगिक समानता
जेसी अवधारणामा जान खोजे पनि मनहरी गाउँपालिकामा हालसम्म कर्मचारी संगठन र जनप्रतिनिधिको क्षेत्रमा भने लैगिंक समानता देखिएको छैन । १ सय ७६ कर्मचारी रहेको गाउँपालिकामा अधिकांश कर्मचारीहरु पुरुष छन् । त्यहाँ महिला कर्मचारीको सहभागिता भने न्युन देखिएको छ । ९ वटा वडा रहेको मनहरीको ८ वडामा सचिवको रुपमा पुरुष छन् भने जातिय हिसावमा हेर्दा ८ जना ब्राम्हण क्षेत्री समुदायको र एकजना जनजाति समुदायका छन् । मनहरीमा अपाङ्गता भएका कोहि पनि कर्मचारीको रुपमा रहेका छैनन् । यहाँ ९ जना वडाध्यक्षहरु पुरुष रहेका छन् ।
कर्मचारीको सवालमा लोकसेवाबाट आउने भएको कारण आफूहरु मातहत नहुने गाउँपालिका उपाध्यक्ष मगरले बताईन् । उनले भनिन् “हामी आफैले नियुक्त गर्ने करारको कर्मचारीको हकमा भने हामीले जेसी अवधारणालाई फलो गरेका छौँ, तर संघ र प्रदेश लोकसेवाको तर्फबाट आउने कर्मचारीको विषयमा भने त्यो अवधारणा पूर्णतया लागु भएको छैन् ।”
न्यायिक समुह मार्फत पुनर्मिलन
गाउँपालिकाले निर्माण गरेको न्यायिक समूहमार्फत भने गाउँपालिकाका हुनेगरेका सामान्य विवाद, घरझगडाहरु मिलाउने गरिएको छ । हिंसामा परेकाहरुलाई सेफ हाउसमार्फत काउन्सिलिङ गरेर परिवारसँग पुनर्मिलन वातावरण बनाउन गाउँपालिकाले अविभावकीय भूमिका निर्वाह गर्ने गरेको पाईएको छ ।