सिन्धुपाल्चोक, २२ पुस ।
बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षाबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकामा सम्पन्न भएको छ । बागमती प्रदेश सभा सचिवालयको आयोजनामा भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले गरे ।
कार्यक्रमको उद्घाटन गर्दै सभामुख पाठकले कानूनको सही कार्यान्वयनका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको र सबैको सहकार्य आवश्यक रहेको बताए । यस्तै उपसभामुख अप्सरा चापागाईले बागमती प्रदेशको कानूनका बारेमा सबैले जानकारी राख्नुपर्ने बताईन् ।
छलफलका क्रममा गाउँपालिका अध्यक्ष टासी लामाले प्रदेशले बनाएका कतिपय कानुन कार्यान्वयनमा जटिलता देखिएकाले समयानुकुल संशोधन गर्नुपर्ने धारणा राखे । यस्तै संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संविधान र कानूनी प्रक्रियाको महत्त्वलाई रेखांकित गर्दै कानूनी सुधारका लागि थप छलफलको आवश्यकता रहेको बताए ।
कार्यक्रममा बागमती प्रदेश सभा सचिव कृष्ण हरि खड्काले प्रदेशले निर्माण गरेका कानून र कार्यान्वयनको अवस्था जानकारी गराएका थिए ।