चितवन, २१ पुस ।
यही पुष २५ देखि सुरु हुने १५ औं संस्करणको चितवन महोत्सवको प्रवर्धनका लागि साइकल र्याली निकालिएको छ ।
चितवन महोत्सव मुल आयोजक समिति, साइकल व्यवसायी संघ चितवन–नवलपुर र चितवन साइकल राइडर्स क्लबको संयुक्त आयोजनामा साइकल र्याली निकालिएको हो ।
उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीका अनुसार साइकल चलाउने प्रवृत्तिलाई प्रवर्धन गरी वातावरण संरक्षणप्रति समुदायलाई सचेत गराई चितवन महोत्सवको प्रवर्धन गर्ने उद्देश्यले र्यालीको आयोजना गरिएको हो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् चितवन महोत्सव मुल आयोजक समितिका संयोजक सुमनकुमार श्रेष्ठ, चितवन साइकल राइडर्स क्लबका अध्यक्ष पदमबहादुर बानियाँ र साइकल व्यवसायी संघ चितवन–नवलपुरका अध्यक्ष वलराम अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेपछि र्याली सुरु भएको थियो ।
दुई चरणमा गरिएको र्यालीमा पहिलो चरणमा करिव १०० भन्दा बढी र दोश्रो चरणको र्यालीमा ४१ जना सहभागि भएका सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार उद्योग वाणिज्य संघ (उवासंघ) चितवन परिसरबाट सुरु भएको पहिलो चरणको र्याली लीलाचोक, पोखरा बसपार्क, आँपटारी, बाइपासरोड, केन्द्रीय बस टर्मिनल (पारस बसपार्क), हाकिमचोक, चौबिसकोठी, लायन्सचोक, सहिदचोक, पुलचोक हुँदै पुनः उवासंघ परिसरमै आएर सकिएको थियो ।
पहिलो चरणको र्याली सकिएपश्चात दोश्रो चरणको र्याली सुरु भएको थियो । दोश्रो चरणमा उवासंघ परिसरबाट पुलचोक, शहिदचोक, वेलचोक, धर्मचोक, यज्ञपूरी, टाईगरचोक, चोकबजार, गीतानगर, पकौडी, पटिहानी, बोटेटोल, हुँदै भरतपुर महानगरपालिका २२ मा रहेको स्टोनपार्कमा पुगेर पुनः उवासंघ परिसरमै फर्किएको थियो ।
स्टोनपार्क परिसरमा एक कार्यक्रमका बीच भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतो, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष एवम् चितवन महोत्सव प्रवर्धन समितिका संयोजक राजेन्द्र ओली, राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानका संयोजक अपील घिमिरे, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुहरुले साइकल राइडर्सहरुलाई स्वागतसहित सम्मान गरेका थिए । सो अवसरमा आफ्नो जीवनको उत्तराद्र्धसम्म पनि साइकलबाट नै यात्रा गरेका १२ जना अग्रजहरुलाई सम्मान गरिएको थियो ।
सो कार्यक्रममा बोल्दै उवासंघका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सवले सम्पूर्ण चितवनबासीलाई अपनत्वको आभाष दिलाउँदै भव्यताका साथ सम्पन्न गर्नका लागि सबैको साथ र सहयोग रहि आएको विश्वास व्यक्त गरे । चितवन साइकल राइडर्स क्लबले महोत्सवको प्रवर्धनमा पुर्याउँदै आइरहेको योगदानको लागि धन्यवाद दिए ।
१५ औं संस्करण चितवन महोत्सव यही पुष २५ देखि माघ १० गतेसम्म नारायणगढस्थित नारायणी नदी किनारमा आयोजना हुँदैछ ।