माडी, २१ पुस ।
वसन्तपुर बजारमा रहेको श्री गुप्तेश्वरी शिवालय मन्दिरमा रामजानकी बालिका आश्रम देवघाटको आयोजनामा हुन लागेको बृहत् श्रीमद्भागवत नहुने भएको छ ।
यस अगाडि बसेको चारवटा बैठकले फाल्गुन १४ गते महाशिवारात्रीका दिनदेखि गर्ने निर्णय गरेको थियो । मन्दिर व्यवस्थापन समितिको धुरमुरका कारण माडीमा महायज्ञ नगरिने भएको हो ।
यसअघि बैठकले १०१ महायज्ञ मूल समाराेह समिति, संरक्षक मण्डल, सल्लाहकार समिति, कलशयात्रा व्यवस्थापन समिति, आर्थिक व्यवस्थापन समिति, सुरक्षा समितिलगायत विभिन्न उप-समिति गठन कार्य समेत गरिसकेको थियो ।
बाबुआमा नभएका बालिकाहरुको संरक्षण र पालनपोषण गर्दै आइरहेको रामजानकी बालिका आश्रमले १०८ यज्ञ मध्ये हालसम्म विभिन्न स्थानमा ८० औं यज्ञ लगाइसकेको छ । तिनै बालिकाहरुले कथा बाचन गर्दै आइरहेका छन् ।
गुप्तेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिसंग रामजानकी बालिका आश्रमले यज्ञमा लाग्ने खर्च सुरुवातमा आफ्नो र स्वइच्छाले उठेको दान र जिन्सी सामाग्री खर्च कटाएर आधाआधा गर्ने निर्णय समेत गरेको थियो ।
महायज्ञ हुने भनी विभिन्न संचारमाध्यममा आइरहेका खबरले एकाएक महायज्ञ नहुँदा भक्तजनमा पर्न गएको असुविधाप्रति आश्रमले क्षमाप्राथी जनाएको छ । निकट समयमा नै सो महायज्ञ अन्यत्र गर्न लागिएको रामजानकी बालिका आश्रमका महासचिव रामेश्वर खनालले जानकारी दिनुभयो ।