मकवानपुर, २१ पुस ।
हेटौंडामा भएकाे दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि काठमाडौंले हात पारेकाे छ । शनिबार प्रदेश राजधानी हेटौंडामा भएकाे फाइनलमा दोलखाकाे टाइगर टिम तिखालाललाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौंकाे पशुपति शिवजी चित्लाङ फुटबल क्लब विजयी भएकाे हाे ।
उपाधिसँगै काठमाडौंले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकाे छ । यसैगरी उपविजेता बनेकाे दोलखाले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त हात पार्यो । काठमाडौंकाे लागि सुजित बुढाथोकीले पहिलाे हाफ र दोस्राे हाफमा १/१ गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलकाे इन्जुरी समयमा काठमाडौंकै आयुष कुँवरले गोल गर्दै टिमकाे जित सुनिश्चित गरेका थिए ।
काठमाडौंका सुजित बुढाथाेकी फाइनलकाे म्यान अफ द म्याच, माेस्ट भ्यालुएवल प्लेयर तथा सर्वाधिक गोलकर्ता घोषित भइ विधागत पुरस्कार प्राप्त गरे । यसैगरी बेष्ट मिडफिल्ड काठमाडौंका विज्ञान खड्का, वेष्ट गोलकिपर काठमाडौका चन्द्र शेखर श्रेष्ठ, बेष्ट डिफेन्डर काठमाडौं जनक काेइराला घाेषित हुँदै नगर ५ हजार हात पारे । यसैगरी दोलखाका सुजन माफी बेष्ट फरवार्ड घोषित हुँदै नगद ५ हजार हात पारे । बेष्ट काेचकाे उपाधी काठमाडोंका रुपेश क्षेत्री घाेषित हुँदै ५ हजार प्राप्त गरे ।
प्रतियोगित अन्तरगत बिहीबार भएकाे दोस्राे सेमिफाइनल खेलमा काठमाडौंले ललितपुर फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियाे । यस्तै बुधबारकाे पहिलाे सेमिफाइनल खेलमा दोलखाले सिन्धुली ब्लु अल्पाइन क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएकाे थियाे ।
प्रदेश फुटबल संघ बागमतीकाे आयोजनामा भएकाे प्रतियाेगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन फुटबल टिमकाे सहभागिता रहेकाे थियाे । रसुवा र रामेछाप जिल्लाको क्लबले भने एन्फामा आबद्ध नभएका कारण प्रतियोगितामा सहभागी जनाएनन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्य सहयोगमा सञ्चालन भएको प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमती र हेटौंडा उपमहानगरपालिकाको सहयोग रहेको थियाे ।