भरतपुर, २० पुस ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनको अध्यक्षमा मदन पुरी निर्वाचित हुनुभएको छ । उहाँ रत्ननगरस्थित स्काइराइडर इङ्लिस स्कुलका प्रधानाध्यापक हुनुहुन्छ ।
शनिबार प्याब्सन कार्यालय भरतपुरमा सम्पन्न १६ औँ अधिवेशनबाट पुरी निर्विरोध अध्यक्ष चयन हुनुभएको हो । समितिको बरिस्ठ उपाध्यक्ष पदमा टेकराज अधिकारी निर्वाचित हुनुभएको छ । अधिवेशन क्रममा यस पदमा मात्रै मतदान भएको थियो । भानुभक्त अर्यालले पनि यसै पदमा अडान कायम राखेपछि मतदान प्रक्रियामार्फत टुङ्गो लगाइएको थियो ।
त्यसैगरी निर्विरोध भएको अन्य पद अन्तर्गत कृष्णप्रसाद भट्ट र शारदा ढकाल उपाध्यक्ष, दयानिधि अर्याल सचिव, युवराज पौडेल कोषाध्यक्ष, पशुपति उपाध्याय सहसचिव तथा सहकोषाध्यक्षमा जीवन महतो चयन हुनुभएको छ ।
सदस्यहरूमा गोकुलप्रसाद भट्ट, वेदनिधि अर्याल, हीराप्रसाद रिमाल, विष्णुबहादुर बस्नेत क्षेत्री र कमलप्रसाद सापकोटा रहनु भएको छ ।
निर्वाचित पदाधिकारीलाई शनिबार नै सपथ ग्रहण गराइएको छ । सपथ ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पुरीले चितवनलाई शैक्षिक हब बनाउने किसिमले यहाँको शैक्षिक गतिविधिलाई अगाडि बढाउने बताउनु भएको छ । बिदेश पलायन भैरहेका विद्यार्थीलाई यहीँ सुरक्षित गर्ने र देशलाई समृद्ध बनाउनेतर्फ सबैको एउटै सोच बनाएर काम गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
प्याब्सन चितवन जिल्ला कार्यसमितिको १६ औं जिल्ला अधिवेशन तथा ३४ औं साधारणसभा कीर्तिनिधि अर्यालको अध्यक्षतामा बसेको हो । कार्यक्रममा प्रमुख अतिथि प्याब्सनका केन्द्रीय अध्यक्ष डीके ढुंगानाले नीजी विद्यालयले पुर्याएको योगदानको चर्चा गर्दै यसका चुनौती, अवसर र संभावना बारेमा बोल्नुभएको थियो । विशिष्ट अतिथिका रूपमा मन्तव्य राख्दै भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिएर विदेश मोहलाई कम गराउन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सीता रिजालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्याब्सन चितवन स्मारिका- अङ्क ३ विमोचन गरिएको थियो भने प्याब्सनले आयोजना गरेका विविध कार्यक्रमका विजयी विद्यार्थीलाई पुरस्कृतसमेत गरिएको थियो ।