काठमाडौँ, २० पुस ।
ऋषिराम पाण्डेयको पहिलो उपन्यास ‘आत्माको अदालतमा’ सार्वजनिक भएको छ ।
भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन भइरहेको दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा २०८१ साल पुष २० गते वरिष्ठ साहित्यकार शीतल गिरिबाट पुस्तक विमोचन गरिएको हो ।
पाँच पोखरी प्रकाशन गृहबाट प्रकाशित उक्त उपन्यास पूर्वजन्म र आध्यात्मिक खोजको विषयमा लेखिएको छ ।
अध्यात्ममा प्यास भएका व्यक्तिका लागि यो एक खोजमूलक उपन्यास हुन सक्ने लेखक पाण्डेयले बताए ।
‘जीवनको मूल्य बुझ्न तथा जीवनलाई सहज तरिकाले जिउनका लागि मार्गदर्शक बन्न सक्छ’ उनले भने, ‘सनातन–मार्गले बताएअनुसारको जीवन जिउने कला यसले सिकाउँछ, अध्यात्ममा रहेको ढोँगको पर्दाफास गर्छ र सत्यमा जीवनलाई समर्पित गर्नका निम्ति हामी सबैलाई उत्प्रेरित गर्छ ।’