भरतपुर, २० पुस ।
नेपाली कांग्रेसका नेता तथा लेखक कैलास कोइरालाको दोस्रो उपन्यास `शास्त्र´को गृह विमोचन तथा विमर्श गरिएको छ । दियालो फूडल्यान्ड भरतपुर-२ क्षेत्रपुरमा गरिएको कार्यक्रममा लेखकका पिता मनोहरि कोइराला, प्रमुख अतिथि नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल र कार्यक्रमका अध्यक्ष उदय अधिकारीले किताब विमोचन गर्नुभएको हो ।
सम्पूर्ण किताब नारायणगढले आयोजना गरेको कार्यक्रममा किताबका सन्दर्भमा रहेर गीता गुरुङ, प्रकाश अधिकारी, विजय सुवेदी र डाक्टर भोजराज अधिकारीले टिप्पणी राख्नुभएको थियो ।
किताबमाथि बोल्दै इच्छाकामना गाउँपालिकाकी पूर्व अध्यक्ष गीता गुरुङले शास्त्रमा लेखक कोइरालाले राजनीतिक संस्कारको विषय उठान गरेको बताउनुभयो । त्यसैगरी प्रकाश अधिकारीले शास्त्रमा लेखकले पूर्वीय र पाश्चात्य दर्शनलाई समेटेर वैचारिक किताब बनाएको बताउनु भयो । `यो पुस्तकमा पूर्वीय र पाश्चात्य दर्शनलाई संवादका रूपमा लेखिएको छ । यसमा आख्यानभन्दा विचारहरू धेरै छन्´, वक्ता अधिकारीले भन्नुभयो – `किताबमा ध्यान र ज्ञानलाई सँगसँगै जोड्नुभएको छ । किताबले राजनीतिका नाममा चलिरहेका लुटलाई उजागर गरिदिएको छ ।´
त्यसैगरी डाक्टर भोजराज अधिकारीले शास्त्रले लेखक कोइरालाको राजनीतिक बाटोलाई स्पष्ट पारेको बताउनु भयो । आफूले कैलास कोइरालाको `राजव्यूह´ उपन्यास पनि पढेको र शास्त्र पढ्दा दुबै किताबको उद्देश्य राजनीतिलाई कसरी सहि नेतृत्व दिन सकिन्छ भन्ने देखाउन खोजिएको उहाँले बताउनु भयो । त्यस्तै विजय सुवेदीले शास्त्रमा हाम्रो सामाजिक र राजनीतिक अवस्था चित्रण भएको बताउनु भयो । माओवादी द्वन्द्व र अन्य घटनाक्रम पुस्तकमा समेटिएको उहाँले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि राजेश्वर खनालले चितवनको राजनीतिमा कोइराला परिवारको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै लेखकका पिताजी मनोहरि कोइरालाले नेपाली कांग्रेस चितवनको लागि गरेको योगदानको चर्चा गर्नु भयो । खनालले कोइराला परिवारका तीन भाइ छोरा प्रकाश, विकास र कैलाससँग आफूले संगत गरेको बताउँदै राजनीतिक यात्रामा कहिलेकाही प्रतिद्वन्द्वीसमेत हुनुपरेको बताउनु भयो । `पदीय जिम्मेवारीमा नहुँदाको समय कैलासजीका लागि फलदायी बन्यो । दुईवटा किताब लगातार आए । उहाँको जीवनको यो महत्त्वपूर्ण उपलब्धि हो´, खनालले भन्नुभयो ।
कार्यक्रममा बोल्दै लेखक कोइरालाले शास्त्रमा विशेषगरी राजनीतिक बेथितिको चर्चा गरिएको उल्लेख गर्नुभयो । सम्पूर्ण किताब नारायणगढले आयोजना गरेको कार्यक्रमलाई लेखराम सापकोटाले सहजीकरण गर्नुभएको थियो ।