भरतपुर, १९ पुस ।
तपाईं आफ्नो जन्मदिन कसरी मनाउनुहुन्छ ? केक काट्ने, साथीभाइ बटुल्ने, तामझाम गर्ने, प्रशस्तै खर्च गर्ने ? यसरी जन्मदिन मनाउनेहरू तपाईं हाम्रो वरिपरि थुप्रै हुनुहुन्छ । तर अनावश्यक र फजुल खर्चमा मीतव्ययी बन्दै रचनात्मक र सिर्जनात्मक काम गरेर जन्मदिन मनाउनेहरू पनि हाम्रो वरिपरि हुनुहुन्छ ।
हिजोआज जन्मदिनमा आश्रम तथा अनाथालयमा खाना खुवाउने, लुगाफाटो दान गर्ने, वृक्षरोपण गर्ने, सरसफाइ गर्ने, रक्तदान गर्ने, किताब तथा स्टेसनरी दान गर्नेलगायतका सिर्जनात्मक एवम् रचनात्मक काममा धेरैको ध्यान जान थालेको छ । जन्मदिनका अवसरमा चितवनमा पछिल्लोपटक विद्यार्थीलाई किताब दिने प्रचलन अभियानको रूपमा चलिरहेको छ । नारायणगढस्थित सम्पूर्ण किताबले किताब वितरण गर्ने प्रचलनलाई सहजीकरण गरिरहेको छ ।
माडी घर भै भरतपुरमा बस्दै आउनुभएका प्रबिन देवकोटाले आफ्नो जन्मदिनको अवसर पारेर शुक्रबार श्री राष्ट्रिय मावि कृष्णपुर भरतपुर-७ मा कक्षा ५ देखि १० सम्म अध्ययनरत सबै विद्यार्थीहरूलाई मुना बालपत्रिका उपलब्ध गराउनु भएको छ । `जन्मदिनलाई तडकभडक किसिमले मनाउने काम कहिल्यै गरिनँ । जन्मदिन मनाउँदा खर्च हुनसक्ने रकम अनुमान गरेर उक्त रकम बराबरको लगानी केही राम्रा काममा प्रयोग गरौं भन्ने मेरो चाहना हो । विद्यार्थीको पठनपाठनमा सहयोग गर्न पाउँदा सन्तुष्टि पनि मिलेको छ´, देवकोटाले भन्नुभयो । देवकोटा नेपाल ट्रेड युनियन काङ्ग्रेसका चितवन जिल्ला युवा समिति सचिव एवं लायन्स क्लब अफ माडी इकोका कोषाध्यक्ष समेत हुनुहुन्छ ।
विद्यालयका प्रधानाध्यापक टंकप्रसाद न्यौपानेले मुना पढेर विद्यार्थीहरू सिर्जनात्मक गतिविधिमा सक्रिय बन्ने अपेक्षा गर्नुभयो । मुना वितरण कार्यक्रममा सहभागी हुनुभएका सामाजिक व्यक्तित्व रामचन्द्र लम्सालले विद्यार्थीहरुले विद्यालय तहदेखि नै आफूलाई अतिरिक्त क्रियाकलाप र गतिविधिमा सक्रिय राखिरहन आग्रह गर्नुभयो । `जग राम्रो भएमा भविस्य राम्रो हुन्छ । तपाईंहरु अहिलेदेखि नै पढाई सँगसँगै अतिरिक्त क्रियाकलापमा ध्यान दिनुभएमा जीवनमा सफलता प्राप्त गर्न कठिनाइ हुँदैन ।´
त्यसैगरी सिद्धार्थ अङ्ग्रेजी स्कुल नारायणगढमा कक्षा- ८ मा अध्ययनरत ओजस्वी ढकालको बिहीबार जन्मदिन थियो । जन्मदिनका अवसरमा उहाँले घर नजिकै रहेको श्री माध्यमिक विद्यालय बाह्रघरे भरतपुर-४ दुर्गाचोकमा कक्षा ३ देखि कक्षा १० सम्म अध्ययनरत सबै विद्यार्थीलाई मुना बालपत्रिका उपलब्ध गराउनु भएको छ । उहाँले सबै शिक्षक र शिक्षिकालाई कलम पनि उपलब्ध गराउनु भयो । विद्यालयका प्रधानाध्यापक ऋषिराम खरेलले ओजस्वीलाई टीका लगाइदिएर विद्यालय परिवारको तर्फबाट शुभकामना व्यक्त गर्नुभयो ।
मुना वितरण कार्यक्रममा ओजस्वीका मातापिता रीता ढकाल र दयाराम ढकाल पनि सहभागी हुनुहुन्थ्यो । आफ्नो जन्मदिनमा आफूजस्तै साथीहरूलाई मुना दिन पाउँदा खुसी लागेको ओजस्वीले बताउनु भयो । `मुना पत्रिका म नियमितरूपमा पढ्छु । यसमा भएका सामग्री हामी विद्यार्थीका लागि उपयोगी छन् । यो उपयोगी पत्रिका सबै विद्यार्थीको हातमा पुगोस् भन्ने मेरो चाहना छ´, ओजस्वीले भन्नुभयो ।
सम्पूर्ण किताबले चितवनका विद्यालयमा मुनालगायतका पत्रिका र पुस्तक वितरणलाई अभियानका रूपमा अगाडि बढाएको छ । जन्मदिन, विवाहोत्सवलगायतका हर्ष बढाइमा दाताहरूको सहयोग लिएर पठन संस्कृतिको प्रबर्द्धनमा सम्पूर्ण किताबले विभिन्न कार्यक्रम गरिरहेको छ । विद्यार्थीहरुलाई पढ्ने अवसर दिएमा पठन संस्कृति मौलाउँदै जानसक्ने विश्वास सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले गर्नुभएको छ ।