गैंडाकोट, १९ पुस ।
नारायणी माध्यमिक विद्यालय गैंडाकोट- ७ शीतलनगरमा विपन्न वर्गका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर- ७ कार्यालयले दुई लाख रुपैयाँ बराबरको न्यानो कपडा ३०० जना विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच वितरण गरिएको हो ।
वितरण कार्यक्रमका अध्यक्ष एवं वडा- ७ का अध्यक्ष होमनाथ सापकोटाले सुरुवाती दिनमा बेलको रुख मुनि बसेर अध्ययन अध्यापन गराउँदै सुरु भएको विद्यालयले अहिले सम्पन्न भवन, अनुभवी शिक्षकहरू पाएको हुनाले विद्यालयले अझ प्रगति गर्नेमा विश्वस्त रहेको बताउनुभयो । वडाले भौतिक पूर्वाधार भन्दा शिक्षा स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको हुनाले विद्यालयलाई कुनै समस्या परेमा वडालाई सम्झिन आग्रह गर्नुभयो । साथै उहाँले आगामी वर्षबाट कक्षा ६ सम्मका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गर्ने बताउनुभयो । अहिले प्रति विद्यार्थी १५ रुपैयाँ कक्षा ५ सम्मका विद्यार्थीहरूलाई मात्र खर्च छुट्टाइएको अवस्थामा यसलाई बढाएर रु. २५ बराबर बनाउने घोषणा समेत गर्नुभयो । कार्यक्रममा बोल्दै पूर्व प्रधानाध्यापक नारायण पौडेलले वडाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरताको कामना गर्नुभयो । अतिथि एवं अभिभावकहरूलाई विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठले स्वागत गर्नुभएको थियो । गैंडाकोट नगरपालिकाको कार्यपालिका सदस्य ईश्वरी जिसी, सीता दराई, जनप्रतिनिधि छलीमाया परियार, धनबहादुर कुमाल, विद्यालय व्यवस्थापन समितिका सदस्य पार्वती सापकोटा, राजेन्द्र पौडेल, विद्यालयका शिक्षक शिक्षिका कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण विद्यालयका सहप्रधानाध्यापक जगन्नाथ उपाध्यायले गर्नुभएको थियो ।