मकवानपुर, १८ पुस ।
बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनलमा काठमाडौं प्रवेश गरेकाे छ । फाइनल प्रवेशसँगै काठमाडौंले दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि रक्षाका लागि दोलखासँग भिड्ने भएकाे छ ।
प्रतियोगिता अन्तरगत बिहीबार भएकाे सेमिफाइनल खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लबले ललितपुर फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । काठमाडौंले पहिलो हाफको तेस्राे मिनेटमा गोल गर्दै अग्रता कायम गरेकाे थियाे । यसैगरी खेलकाे ४२ औं मिनेटमा ललितपुरले जवाफी गोल गर्दै खेललाई १–१ गोलको बराबरी पुर्याएकाे थियो ।
खेलको ४८ औं मिनेटमा काठमाडौंकाे तर्फबाट १ गोल थप गर्दै टिमले २–१ को अग्रता लिएकाे थियाे । खेलको ६६ औं मिनेटमा काठमाडौंले पुनः गोल गरेकाे थियाे । प्रतियोगिताकाे म्यान अफ द म्याच काठमाडौंका यमन महर्जन घोषित भए । उनले टिमलाई फाइनल प्रवेश गर्न २ गोल गरेका थिए । म्यान अफ द म्याच हुँदै उनले ३ हजार रुपैयाँको नगदसहित ट्रफी हात पारे ।
यसअघि प्रतियोगिता अन्तरगत बुधबारकाे पहिलाे सेमिफाइनल खेलमा दोलखाले सिन्धुलीलाई हराउँदै फाइनलमा स्थान बनाइसकेकाे छ । सिन्धुलीको ब्लु अल्पाइन क्लबलाई २–१ गोल अन्तरले पाखा दोलखाले फाइनल यात्रा तय गरेकाे थियाे । प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
२० पुस शनिबार दिउँसो २ बजे हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा फाइनल खेल हुने आयोजक प्रदेश फुटबल संघले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्य सहयोगमा सञ्चालन भएको प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमती र हेटौंडा उपमहानगरपालिकाको सहयोग रहेको छ ।
प्रतियोगितामा सुवा र रामेछाप जिल्लाको क्लब सहभागी भएनन् । मकवानपुरको पदमपोखरी युथ क्लबसहित, काठमाडौंको चित्लाङ फुटबल क्लब, सिन्धुलीको ब्लु अल्पाइन क्लब, दोलखाको टाइगर टिम तिखालाल, धादिङको धुनिबेसी युवा समाज, नुवाकोटको बटार युथ क्लब, सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लब, चितवनको बिएफसी क्लब, ललितपुर र काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लबकाे प्रतियोगितामा सहभागिता रहेको थियाे । गत वर्ष पहिलो संस्करणको प्रदेश लिग प्रतियोगिता नुवाकोट जिल्लामा भएको थियो ।