चितवन, १८ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको उपन्यास ‘कामरेड जलजला’ माथि बिहीबार भरतपुरमा संवाद र समीक्षा गरिएको छ । अखिल नेपाल बुद्धिजीवी संघ, चितवनले आयोजना गरेको कार्यक्रममा ‘कामरेड जलजला’ माथि संवाद र समीक्षा भएको हो ।
कार्यक्रमका सहजकर्ता पत्रकार रमेशकुमार पौडेलले करिब पाँच लाख शब्द रहेको कामरेड जलजला उपन्यास लेखक सिंहले २३ वर्ष लगाएर लेखेको महत्वपूर्ण कृति भएको बताए । उनले पुस्तकभित्र जानकारीको भण्डार रहेको भन्दै यसमा कणदेखि ब्रह्माण्डसम्मका कुरा समेटिएको बताए । उपन्यासमा स्वेरकल्पना पनि मिसिएको र मंगल ग्रहमा गरिबहरुको बस्ती बसाउने कुरा गरिएको प्रसंग रहेको पौडेलले जानकारी गराए ।
अधिवक्ता सरिता तिवारीले कामरेड जलजला किताबभित्र तीन वटा किताबका सामग्री रहेको बताइन् । ‘उपन्यासको अन्त्यमा कामरेड अजित र कामरेड सुनन्दाको विवाह किन गराइयो ?’ लेखक सिंहलाई उनले सोधिन्, ‘के विवाह नगरीकन प्रेम गरिरहन सकिँदैन ?’
‘प्रेम, विवाह र नैतिकताबारे संसारमा धेरै मत छन्, विवाद पनि छन्’ तिवारीको प्रश्नलाई सम्बोधन गर्दै लेखक सिंहले भने, ‘विवाहबिनाको प्रेममाथि नैतिक प्रश्न उठाइएका धेरै घटना हाम्रै समाजमा भएका छन् । विवाह नगरी प्रेम मात्रै गर्ने कुरा कम्युनिष्टहरुमा स्वीकार्य छैन ।’
समीक्षक उदय अधिकारीले यो पुस्तक लेखकको जीवनीपरक आत्मकथा भएको बताए । उनले भने, ‘जीवनमा आफूसँग जोडिन आएका पात्रहरुलाई कामरेड जलजला उपन्यासमा समेटिएको छ । त्यसैले यो उपन्यास जीवनीपरक आत्मकथा पनि हो ।’
कार्यक्रममा पुस्तकबारे ईश्वरी भट्टराई, रमाकान्त सापकोटा, अशोक शर्मालगायतले पाठकीय दृष्टिकोण प्रस्तुत गरेका थिए । कामरेड जलजला उपन्यासलाई लेखक सिंहले प्रेमको कथा र विश्वको दर्शन भनेका छन् । उपन्यास दुई खण्ड, आठ भाग, ७२ परिच्छेद र २७२ अंकमा विभाजित छ । १ हजार ३२० पृष्ठको उपन्यासको मूल्य ३ हजार रुपैयाँ राखिएको छ ।