मकवानपुर, १८ पुस ।
मकवानपुरको हेटौंडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबारको सेमिफाइनल खेलबाट दोलखा टाइगर टिम तिखाताल फाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी दोस्रो संस्करणको प्रदेश लिग फुटबल प्रतियोगितामा फाइनल प्रवेशका लागि समूह ‘ख’बाट सिन्धुली जिल्लाको ब्लु अल्पाइन क्लब र दोलखाको टाइगर टिम तिखातालबीच प्रतिस्पर्धामा दोलखाले फाइनलको यात्रा तय गरेको हो । बुधबार भएको पहिलो सेमिफाइनलमा दोलखाले सिन्धुलीलाई २–१ गोल अन्तरले पाखा लगाउँदै फाइनल प्रवेश गरेको हो ।
दोलखाले बिहीबार हुने अन्तिम सेमिफाइनल खेलको विजेतासँग लिग उपाधीकाे लागि प्रतिस्पर्धा गर्नेछ । बिहीबार काठमाडौंको चित्लाङ फुटबल क्लब र ललितपुर फुटबल क्लबबीच सेमिफाइनलको प्रतिस्पर्धा हुनेछ । समूह चरणको खेलमा सिन्धुली, दोलखा, भक्तपुर र काठमाडौंले दुई खेलहरुमा जीत निकालेर सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
लिगकम नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा ११ जिल्लाको लिग विजेता टिमहरुको सहभागिता रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा फुटबल क्लबहरु आवद्ध नभएका प्रतियोगितामा रसुवा र रामेछाप जिल्लाको क्लब सहभागी हुन नपाएको प्रदेश फुटबल संघले जनाएको छ ।
प्रतियोगितामा मकवानपुरको पदमपोखरी युथ क्लबसहित, काठमाडौंको चित्लाङ फुटबल क्लब, सिन्धुलीको ब्लु अल्पाइन क्लब, दोलखाको टाइगर टिम तिखालाल, धादिङको धुनिबेसी युवा समाज, नुवाकोटको बटार युथ क्लब, सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लब, चितवनको बिएफसी क्लब, ललितपुर र काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल पुस २० गते शनिबार हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्य सहयोगमा सञ्चालन भएको प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमती र हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहेको छ ।
गत वर्ष पहिलो संस्करणको प्रदेश लिग प्रतियोगिता नुवाकोट जिल्लामा भएको थियो ।