चितवन, १८ पुस ।
नारायणी नदी किनारमा पुस २५ देखि माघ १० गतेसम्म आयोजना हुन लागेको १५औँ चितवन महोत्सवमा पर्यटन प्रवर्धनलाई जोड दिइएको छ । उद्योग वाणिज्य संघ चितवनको सभाहलमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी दिइएको हो ।
‘चितवन जिल्लालाई विविधता र समृद्धिको भूमिको रुपमा विकास गर्ने महोत्सवको लक्ष्य रहेको छ’ महोत्सव संयोजक सुमनकुमार श्रेष्ठले भने, ‘चितवनका पर्यटकीय स्थलहरुसम्म जान र आउनको लागि सफारीको व्यवस्था, होमस्टेमा बसोबासको प्रबन्ध र पर्यटकीय स्थलहरुको वृत्तचित्र प्रस्तुतिलगायत कार्यक्रम अगाडि सारेका छौँ ।’
उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको महोत्सवको मुख्य प्रबर्द्धकमा भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवन छन् । प्रबर्द्धकमा नेपाल उद्योग वाणिज्य महासंघ, कृषि विकास बैंक लिमिटेड र नेपाल पर्यटन बोर्ड छन् । मुख्य प्रायोजकमा ग्लोबल आइएमई बैंक र सहप्रायोजकमा ग्रिन मोटर्स प्रालि छन् ।
महोत्सवमा सात वटा विशेष स्टल, कृषि परिसर, अटो परिसर, निर्माण सामग्री व्यवसायीहरुसँगको सहकार्यमा निर्माण एक्स्पो, रेस्टुरेन्ट परिसरसहित ४ सय ३० वटा स्टल रहने छन् । करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको चितवन महोत्सवमा ३० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।
महोत्सवको प्रवेश शुल्क सर्वसाधारणलाई सय रुपैयाँ तोकिएको छ । विद्यार्थीहरुलाई सहुलियत दर ५० रुपैयाँ कायम गरिएको संयोजक श्रेष्ठले जानकारी दिए । विगतका महोत्सवबाट प्राप्त अनुभव, प्रदर्शक र अवलोकनकर्ताहरुको अनुरोधलाई मध्यनजर गरी यस वर्ष पाँच दिन थप गरिएको उनले बताए ।