चितवन, १७ पुस ।
भरतपुर महानगरपालिका–१२, वसन्तचोकमा रहेको एड्भेञ्चर इङ्ग्लिस बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा प्रेक्षा शर्माद्वारा लिखित उपन्यास ‘फाइण्डिङ द होराइजन’ को बुधबार एक समारोहबिच विमोचन गरिएको छ । एड्भेन्चर स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा प्रेक्षाले लेखेको १८० पृष्ठको उपन्यास विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका–१२ का वडाध्यक्ष लेखनाथ पन्त ‘हरि’ ले कलिलो उमेरमै पुस्तक लेखेर अब्बल प्रतिभाको उदाहरण बनेकी प्रेक्षाको लागि आवश्यक सहयोग गर्न व्यक्तिगतरुपमा आफू र संस्थागत हिसाबले वडा कार्यालय सधैँ तयार रहेको बताए ।
कार्यक्रममा उपस्थित सबैले उपन्यासकारको लेखन शैली र उपन्यासको गहिराई सम्बन्धमा चर्चा गर्दै सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा आयोजकले दाबी नगरे पनि वक्ताहरुले प्रेक्षा शर्मा सम्भवतः नेपालकै सबैभन्दा कान्छी उपन्यासकार रहेको समेत उल्लेख गरे ।
पुस्तकबारे समीक्षात्मक मन्तव्य दिँदै प्राध्यापक घनश्यामराम काफ्लेले कथामा परिपक्वता रहेको बताए । ‘कथा, प्रस्तुति, पात्र चयन, कथावाचन निकै परिपक्व लाग्यो’ उनले भने, ‘यो उपन्यास पढ्दा बाललेखकले लेखेको जस्तै लाग्दैन ।’
२०६७ पुस १८ गते बेलायतको लन्डन शहरमा जन्मिएकी प्रेक्षा पाँच वर्षको हुँदा बाबुआमासहित नेपाल आइन् । पढाइमा अब्बल प्रेक्षा दैनिक रातको १२ बजेसम्म साहित्यिक पुस्तक पढ्ने गरेको उनका बुबा तथा एड्भेञ्चर स्कुलका प्राचार्य प्रेम शर्मा बस्यालले बताए ।
‘नेपालबाट फर्केर लन्डन पुगेपछि प्रेक्षाले सधैँ नेपाल कहिले जाने भनेर सोध्न थालेपछि सम्पत्तिभन्दा ठुलो कुरा सन्तान हो भन्ने लागेर सपरिवार नेपाल फर्कियौँ’ बस्यालले भने, ‘म नेपाल फर्किने कुरा सुनेर धेरै साथीहरुले किन ? भनी प्रश्न गर्नुभएको थियो । आज छोरीले उत्तर दिएकी छिन्, हामी किन नेपाल आयौँ ?’
नेपालमै अर्थशास्त्रको प्राध्यापक बन्ने र साहित्यलाई पनि सँगसँगै लैजाने लक्ष्य लिएको लेखक प्रेक्षा बताउँछिन् । उपन्यासको मूल्य ३२५ रुपैयाँ छ । यस पुस्तकको बिक्रीबाट प्राप्त रकममध्ये प्रतिपुस्तक ५० रुपैयाँ चितवन मानव सेवा आश्रमलाई समर्पण गरिने उपन्यासकार प्रेक्षाले बताइन् ।
उपन्यासकार प्रेक्षाकी हजुरआमा गंगादेवी शर्मा र मावलतर्फकी हजुरआमा भागीरथी भट्टराईको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रममा साहित्यकारहरु एलबी क्षेत्री, प्राडा कर्ण बानियाँ, विद्या भण्डारी ’चिराग’, प्याब्सन भरतपुरका अध्यक्ष मीनराज बस्ताकोटी, प्याब्सन भरतपुरका सल्लाहकार लेखनाथ खनाल, अङ्कुरम् स्कुलका निर्देशक नयम चौधरी, भ्याली स्टेट कलेजका प्रिन्सिपल बाबुराम खनाल, बस्याल वंश समाजका अध्यक्ष राजु बस्याल लगायतको उपस्थिति थियो ।