मकवानपुर, १७ पुस ।
मनहरी गाउँपालिका- ५ वसन्तपुरमा मान्छे र बाख्रा मारेर भागेको बाघलाई नियन्त्रणमा लिइएकाे छ । बाघलाई वसन्तपुरस्थित सुकौरा खोलाबाट नियन्त्रणमा लिइएकाे हाे ।
१४ पुसमा घाँस काट्न निस्केकी कान्छीमाया रुम्बालाई घर छेवैमा उक्त बाघले मारेकाे थियो । यसैगरी स्थानीय सूर्यबहादुर मोक्तानकाे ७ वटा बाख्रा समेत मारेकाे बाघ शिकार खोज्दै पुनः गाउँ फर्कने क्रममा डार्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । प्रहरीका अनुसार पर्सा राष्ट्रीय निकुन्ज र चितवन राष्ट्रीय निकुन्जको टोली डार्ट गरेर बाघलाई नियन्त्रणमा लिएकाे हाे ।
चितवन राष्ट्रिय निकुन्ज तथा पर्सा राष्ट्रिय निकुन्जका प्राविधिकहरु,नेपाली सेना, जनप्रतिनिधिसहितको टोलीले मरेको बाख्रा देखाएर बाघलाई आकर्षित गरी डार्ट गरेर नियन्त्रणमा लिएका हुन् । टाढैबाट गोली हाने जसरी बाघ वा अन्य वन्यजन्तुलाई सुईमार्फत बेहोस बनाउने औषधी लगाउने प्रक्रियालाई डार्ट गर्ने भनिन्छ । बाघले मारेको बाख्रालाई बाघ जंगलतिर भागेको ठाउँतिर राखेर डार्ट टोली स्ट्यान्डबाइ बसेको थियो ।
बाघ आउने सम्भावित बाटोमा बाख्रा राखिएकामा मंगलबार साँझ सोही बाटो भएर बाघ आएको र बाख्रा खाने क्रममा डार्ट गरिएको मनहरी गाउँपालिका ५ नं वडाध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिए । बाख्रालाई घिसार्ने क्रममा डार्ट गरिएको र केही परमात्रै बाघ बेहोस अबस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । डार्ट गरिएपछि शिकार राखिएको वरपर ४ वटा हात्ती प्रयोग गरेर बाघको खोजी गरिएको थियो । बेहोस् अबस्थाको बाघलाई पर्सा राष्ट्रिय निकुन्ज लगिएकाे प्रहरीले जनाएकाे छ ।