मकवानपुर, १७ पुस ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका सबै तहका जनप्रतिनिधिले परिणाम आउनेगरी काम गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रस मकवानपुरले ४९ औं मेलमिलाप तथा राष्ट्रिय एकता दिवसमा मंगलबार हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई महामन्त्री गगन थापाले सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
थापाले जनताले २०७९ सालको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाएकाे बताउँदै काम गरेर देखाउने समय ३ वर्ष बाँकी रहेकाेले हामीले काम गरेर देखाउनु पर्ने बताए । ‘२०८४ सालको निर्वाचनमा पार्टीकाे घोषणापत्र मात्रै होइन अहिले गरेका कामकाे परिणामपत्र लिएर जनतामाझ जानुपर्छ ’ थापाले भने । ‘वर्तमान सरकार टिक्दैन भनेर हल्ला चलाइएकाे छ’ उनले भने ‘काँग्रेस एमालेकाे अहिलेकाे सरकार तीन वर्षसम्म निरन्तर रहन्छ ।’
यसैगरी थापाले पार्टीको महाधिवेशन समयमै हुने दाबी समेत गरेका छन् । ‘प्रतिबन्धित समयमा समेत महाधिवेशन गरेको पार्टीले समयमै महाधिवेशन गर्छ’ उनले भने । उनले पार्टी विधानअनुसार महाधिवेशन समयमै हुनेमा ढुक्क हुन समेत आग्रह गरे । ‘ढुक्क हुनुहोस् । महाधिवेशन हुन्छ कि हुँदैन भनेर रुवाबासी गर्न जरुरी छैन’ उनले भने । ‘नेतृत्वको विषयमा महाधिवेशनको समयमै सोचौंला ।
यसैगरी नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कसैको पद जोगाउन अहिलेको गठबन्धन नगरिएको बताए । सुशासन, विकास र समृद्धिका लागि वर्तमान गठबन्धनको सरकार बनेको उनको भनाई थियाे । सरकार जिम्मेवार, जवाफदेही बनेर युवा पलायन रोक्न, रोजगारी सृजना, उत्पादन र उत्पादकत्व बढाउने विषयमा काम गर्नुपर्ने उनले बताए ।
‘वर्तमान सरकारले नराम्रो नगरेको तर, नागरिकमा आशा जगाउन पनि सकेको छैन’ उनले भने । वर्तमान व्यवस्था जोगाउन एमाले–कांग्रेसको गठबन्धन बनेको समेत उनले दावी गरे ।
देश मिलाउन सक्ने क्षमता राख्ने कांग्रेस आन्तरिक विवादमा अल्झिएको बताउनुहुँदै कांग्रेसको आन्तरिक विवाद समाधान नहुँदा पार्टीलाई क्षति पुगिरहेको उनले स्वीकारेका छन् । पार्टीका सम्बन्धित समितिमा रहेका असन्तुष्टिका विषयमा छलफल गरी एजेन्डा निर्माण गर्नुपर्ने बानियाँले बताए । ‘कांग्रेस आन्तरिक विवादमा फसेको छ । कांग्रेसले देश मिलाउने क्षमता राख्छ । तर, पार्टी मिलाउन सकेन । कांग्रेसको नेतृत्वमा शान्ति प्रक्रिया, संविधान निर्माण, प्रजातन्त्रका सवालमा सबै दलहरु एक हुन सक्छन् । तर पार्टीका आन्तरिक विषयमा एक हुन सकिरहेको छैन’ उनले भने ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्य, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी पूर्व सभापति रघुरमण न्यौपाने, कांग्रेस क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, क्षेत्र नम्बर २ (ख) का सभापति रन्जन कालाखेती, मनहरी गाउँपालिका सभापति प्रकाश वर्ताैलालगायतले मन्तव्य राखेका थिए ।
पार्टी सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापतिहरु, पार्टीमा लामो समय योगदान गरेका नेताहरुलगायत गरी करिब ३० जनालाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई स्वागत गरिएकाे थियाे ।