भरतपुर, १६ पुस ।
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरले गरेकोे विकास अन्य पालिका, प्रदेश र केन्द्रले समेत अनुकरण गर्न योग्य रहेको बताउनु भएको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ को सफल समापन एवं एवं पाँच दिन अगाडिदेखि पश्चिमचितवनको मेघौलीमा शुरु गरिएको राष्ट्रिय रैथाने खाना महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘भ्रमण वर्षको शुरुआत चितवनको मुख्य बजार नारायणगढ नारायणी किनारबाट शुरु भएको थियो र समापन मेघौलीमा हुनुुले महानगरको समग्र विकास र जनताको एकताको सन्देश दिएको छ ।’
उहाँले भरतपुरलाई विकास र नमूनाको शहरको रुपमा विकास गर्ने नीजि क्षेत्र र यहाँका बासिन्दा सबैसबैलाई धन्यवाद दिनुभयो । सन् २०२४ मार्चमा नारायणी नदी किनारमा तत्कालीन प्रधानमन्त्री प्रचण्डसहित वर्तमान प्रधानमन्त्री र तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता खड्गप्रसाद ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरुलगायत देशका प्रमुख पार्टी नेतृत्वको उपस्थितिमा औपचारिक उद्घाटन गरि शुरुआत गरिएको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले प्रधानमन्त्री हुनु भन्दा प्रमुख प्रतिपक्षी दलको नेता हुँदा जनताको माया र सम्मान बढी पाएको बताउनु भएको छ । पछिल्लो समय विभिन्न ठाउँमा सम्बोधनको क्रममा देखिएको उपस्थितिलाई माया र सम्मान भन्दै पूर्व झापा, पश्चिम कैलाली र देशका अन्य क्षेत्रमा आफु पुग्दा अपार उपस्थिति रहेको स्मरण गर्नुभयो ।
भरतपुर भ्रमण वर्षले वार्षिकोत्सव मनाएर सन् २०२५ लाई स्वागत गर्दै गरेको उक्त औपचारिक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले देशमा केही वर्ष यता नकारात्मक सन्देश दिने खालका टिप्पणी र भनाईहरु आइरहेको केही हुँदैन्, देशमा बसेर केही गर्न सकिँदैन भन्नेहरुलाई महानगरको विकास उदाहरण र मोडेल बनेको उहाँको भनाई थियो । उहाँले यसो हुनुुमा यहाँका जनताको एकता र नेतृत्व सही र निस्वार्थ हुनुुको परिणाम भएको पनि दाबी गर्नुभयो ।
भरतपुर महानगर कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा मात्र नभएर खेल पर्यटनमा पनि स्थापित हुनेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो । पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीकालमा चितवनको रामपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरबको आयोजनामा समावेश गरेको पनि बताउनुभयो । रंगशालाको लागि आवश्यक बजेट निकासाको लागि पहल गर्ने पनि प्रतिवद्धता जनाउनुभयो ।
आफू प्रधानमन्त्री हुँदाको कार्यकाल स्मरण गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले पहिलो कार्यकालमा धेरै काम गर्न नसकेपनि मध्यपहाडी लोकमार्ग र मदनभण्डारी राजमार्ग खोल्ने काम भएको बताउनु भयो ।
दोस्रोपटक संविधान कार्यान्वयन र लोडसेडिङको अन्त्य गरेको र तेस्रो पटक सुशासन कायम गर्ने, सामाजिक न्यायको झण्डा उठाउने कोशिस गरेको, देशको जटील आर्थिक अवस्थालाई सही दिशामा ल्याउने कामको शुरुआत गरिएको, अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो बनाउने काम शुरुआत गरिएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय सम्बन्धमा सकारात्मक पहल हुँदै थियो, केही मानिसहरुलाई मन परेन र अहिले जनताको माझमा छु ।’
भरतपुर महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा चितवन जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारी, नेकपा एमाले नेता कृष्णप्रसाद भूर्तेल, नेपाल पर्यटन बोर्डका कार्यकारी उपाध्यक्ष कमलप्रसाद सापकोटा, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रमपूर्व तेलौली बजारदेखि कार्यक्रम स्थलसम्म बाजागाजा र झाँकीसहितको र्याली गरिएको थियो ।