भरतपुर, १५ पुस ।
समालोचक रमेश प्रभात पुरस्कृत हुनुभएको छ । चितवन साहित्य परिषद्ले कवि शिरोमणि लेखनाथ पौड्यालको १४१ औँ जयन्तीका अवसरमा `चिसाप कृष्ण-कृष्णा साहित्य पुरस्कार २०८०´ बाट समालोचक प्रभातको कृति `अलिकति फरक कुरा´लाई पुरस्कृत गरेको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर – १५ मङ्गलपुर निवासी प्रभात ४० को दशकदेखि हाइकू, गजल, कविता तथा समालाेचना विधामा कलम चलाएर याेगदान पुर्याउँदै आउनु भएको छ ।
चिसापका अध्यक्ष केदारनाथ खनाल, कार्यक्रमका प्रमुख अतिथि रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र गैंडाकोट नगरप्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदीले समालोचक प्रभातलाई सम्मान गर्नुभएको हो । पुरस्कारको राशि १५ हजार ४५ रुपैयाँ र प्रमाणपत्र छ । कार्यक्रममा पुरस्कृत स्रस्टाको व्यक्तित्व र कृतित्त्वमाथि कवि सुरेन्द्र अस्तफलले टिप्पणी राख्नुभएको थियो । कार्यक्रममा कवि शिरोमणि लेखनाथ पौड्यालको व्यक्तित्व र कृतित्त्वबारेमा प्राडा नारायणप्रसाद खनालले चर्चा गर्नुभएको थियो । कार्यक्रममा विष्णु तिवारी उषा, प्रकाश चापागाईं, होमनाथ घिमिरे, विदुर अधिकारी, राजेन्द्र घायल, गणेश श्रमण, एलबी क्षेत्री, सरस्वती रिजाललगायतले मन्तव्यसहित रचना वाचन गर्नुभएको थियो ।
चितवनको रत्ननगर बकुलहर घर भई हाल अमेरिका बस्दै आएका कृष्णप्रसाद पौडेल र कृष्णादेवी पौडेलले एक लाख राशिको अक्षयकोष राखेर यो पुरस्कार स्थापना गर्नुभएको हो । २०७१ सालदेखि दिन थालिएको पुरस्कार पहिलो वर्ष लकास पौडेलको खण्डकाव्य ‘सौर्यगाथा’लाई प्रदान गरिएको थियो । त्यसपछि २०७२ सालमा नरेन्द्रराज पौडेलको निबन्धसङ्ग्रह `सिडिओका सत्र वर्ष´, २०७३ सालमा सुमन घिमिरेको `मौनता´ उपन्यास र डा. मतिप्रसाद ढकालको निबन्धसङ्ग्रह `पुस्तकालयको भोक´ लाई संयुक्तरूपमा प्रदान गरिएको थियो । २०७४ सालमा दीपेन्द्रसिं थापाको कवितासङ्ग्रह `सहयात्री शब्दहरू´ र निर्मल ढुङ्गानाको कथासङ्ग्रह `बतासा´लाई संयुक्तरूपमा दिइएको यो पुरस्कार २०७५ सालमा प्रसन्न घिमिरेको `मिझोर´ कवितासङ्ग्रहले प्राप्त गरेको थियो । त्यसैगरी २०७६ सालमा गणेश श्रमणको `गुलियो काठमाडौँ´ र लक्ष्मण अर्यालको `औंला´ लघुकथासङ्ग्रहले संयुक्तरूपमा पुरस्कार प्राप्त गरे । २०७७ सालमा नानी विभुको `अनुक्रोस´ उपन्यासलाई दिइएको यो पुरस्कार २०७८ सालमा दीपक सम्चुको `अनुहारमा आप्पा´ र कृष्णशरण उपाध्याय `अनेक प्रश्न´ कवितासङ्ग्रहलाई दिइएको थियो भने २०७९ सालमा मनोज चौधरीको `टुवरा´ उपन्यासलाई यो पुरस्कार प्रदान गरिएको छ ।