साथी रमेश,
तिमी रमेशकुमार श्रेष्ठबाट कसरी एकाएक रमेश प्रभात बन्यौ ? तिमीले किन नामबाट थरको पुच्छर हटाएर अर्कै नाम झुन्ड्यायौ ? अर्थात् उपनाम किन राख्यौ ? किन आफ्नो नेवार पहिचानलाई साहित्यको माध्यमबाट चिनाउन चाहेनौ ? यी प्रश्न मेरा मात्र होइनन् है ।
त्यसो त यी प्रश्नको उत्तर रमेशले बेलाबेलामा दिने गरेका छन् । उनी भन्छन् — ‘धेरै रमेश श्रेष्ठहरू भए नेपाली साहित्यमा, त्यसैले श्रेष्ठ हटाएर प्रभात राखेँ ।’ आखिर एउटा पहिचान भत्काएर अर्काे पहिचानका साथ उभिए उनी । अनि कुमार नि ? यस विषयमा जो कोही पनि प्रस्ट भन्न सक्छन् — ‘रमेशले बिहे गर्यो, एक छोरा र छोरीको पिता बन्यो ।’ यसरी रमेशकुमार श्रेष्ठ नेपाली साहित्यमा रमेश प्रभातको नामबाट चिनिएका छन् ।
रमेशको कविडाँडासँग गहिरो साइनो छ । विशेष गरी बाँके घरको आँगन उनको लागि प्रिय थियो कुनै बेला । बाँके घरका गोपाल पौडेलसँगको उनको साँठगाँठले म पनि प्रभातसँग जोडिन पुगेको हुँ । यही साठगाँठ सामूहिक अभियानको बीज विन्दु बन्न पुग्यो । २०५९ सालमा गणेश श्रमणको कवि कटेरीमा बसेर अभिव्यञ्जना साहित्य प्रतिष्ठान खोल्यौँ हामीले । उनी त्यसको संस्थापक अध्यक्ष बने । त्यस्तै सौदामिनी हवाई मासिक पत्रिकाको माध्यमबाट हामीलाई राष्ट्रिय स्तरमा चिनाउन प्रभातले सघाउ पुर्याए ।
रमेश पढाइमा पनि अब्बल थिए । उनी चितवनको जिल्ला स्तरीय प्रवेशिका ल्याकत परीक्षा २०४५ मा बोर्ड छैटौँ भए । एसएलसी परीक्षामा प्रथम श्रेणी ल्याएर जिल्लामा पाँचौँ स्थानमा आए । वनविज्ञानको विद्यार्थी हुँदै नेपाली साहित्यका विद्यार्थी भए । एमए तहमा विश्वविद्यालय क्याम्पसबाट दोस्रो बने । मेधावी छात्रको पहिचान बनाएका प्रभातको स्वभाव खरो किसिमको छ । यसको छनक उनले आफ्ना समालोचना, समीक्षा एवम् निसमालोचनामा मात्र होइन, कुराकानीको क्रममा पनि प्रस्ट हुन्छ ।
‘रमेश अलि रुखो स्वभावको छ । पुस्तक विमोचन कार्यक्रममा त यसलाई वक्ता बनाउनु हुँदैन ।’ भनेर तर्सने चितवनमा धेरै साहित्यिक साथीहरू छन् । उनले तित्राको मुखै बैरी भन्ने उखानलाई चरितार्थ गरेका छन् । हामी प्रभातलाई पहिलेदेखि नै समालोचनामा लाग्न प्रेरित गरिरहन्थ्यौँ । यसो गर्दा सिर्जनाका क्षेत्रमा हामीलाई ढलिमली गर्ने छुट मिल्थ्यो पनि ।
रमेशले २०५४ सालमा खल्ती साइजको हाइकुसङ्ग्रह निकाले — सत्तालिप्सा । बालकुमारी कलेजको कक्षा कोठामा सीमित साथीहरूको उपस्थितिमा विमोचन गरिएको कार्यक्रमको सञ्चालन गरेको झझल्को अझै पनि जीवित नै छ । त्यतिबेला साथीहरू भन्थे — ‘रमेशले आफ्नो हाइटअनुसारको पुस्तक निकाल्यो ।’ तर सत्तालिप्सा चितवनको मात्र नभएर नेपालकै पहिलो हाइकुसङ्ग्रह बन्यो । एउटा इतिहास बनायो ।
वि.सं. २०५० सालदेखि अहिलेसम्म करिब ३१ वर्ष भएछ प्रभातसँगको सामीप्य । उनी चितवन साहित्य परिषद्का कार्यकारी सदस्य थिए कुनै बेला । चक र डस्टर समाउन र त्यसमै रमाउनका लागि उनले चिसापको कार्यकारी पदबाट राजीनामा दिनुपर्यो । यस विषयका साक्षीमा केदारनाथ खनाल सर, म र रमेश छौँ । प्रभात साहित्य सङ्गम चितवनका उपाध्यक्ष, गजल मञ्च चितवनका अध्यक्ष भएर साङ्गठनिक क्षमता पनि प्रर्दशन गरिसकेका छन् भने हाल अक्षर समूह चितवनका अध्यक्ष पनि छन् । त्रिभुवन विश्व विद्यालयबाट नेपाली विषयमा एमफिल गरिसकेका प्रभात वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा उपप्राध्यापक छन् ।
रमेश प्रभात पछिल्लो समय निसमालोचनामा क्रियाशील छन् । डा. एकनारायण पौड्यालले सैद्धान्तीकरण गरेको निसमालोचनाको जरामा उभिएर उनले ‘अलिकति फरक कुरा’ शीर्षकको निसमालोचना कृति लिएर पाठकसामु आएका छन् । यसै कृतिलाई चितवन साहित्य परिषद्ले चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार— २०८० अर्पण गरेको छ । म यहाँ तिनै प्रभातको ‘अलिकति फरक कुरा’ निसमालोचना सङ्ग्रहको निसमालोचना गर्न उभिएको छु ।
प्रिय रमेश, तिमीले २७ जना लेखकलाई विभिन्न तरिकाले सङ्ग्रहमा सम्झिएका छौ । २७ अङ्कसँग तिम्रो कुनै साइनो छैन किनकि तिमी आफूलाई भौतिकवादी ठान्छौ । तिमी स्वयम्ले नै यसलाई संयोग भनिदिएपछि यसो भन्न हामीलाई पूरापूर छुट छ । यसमा पत्रात्मक शैली, अन्तर्वार्ता शैली र निबन्धात्मक शैलीलाई अपनाएर विविधता पस्किएका छौ । कतै निबन्ध पढेजस्तो, कतै पत्र पढेजस्तो र कतै समीक्षा पढेजस्तो अनुभव गर्दागर्दै निसमालोचना सकिन्छ । खसखस लागेको कुरा के भने तिमीले २७, २७ जना लेखकलाई सम्झँदा वसन्त पराजुलीबाहेक अन्य समकालीनलाई सम्झेनछौ । समकालीन साथीहरूलाई किन बिर्सियौ ? हुन त तिमी आफैँले भूमिकामा यसको छोटो उत्तर दिएका पनि छौ — ‘खासमा मेरा दौँतरीहरूका शक्ति र सीमाका बारेमा मलाई राम्ररी थाहा छ । त्यसैले तिनका बारेमा लेख्दा म बहकिने सम्भावना हुन्थ्यो, त्यसैले यो कृतिमा तिनीहरू छुटेका छन् ।’ यति भएपछि हामीलाई चित्त बुझाउन करै लाग्यो । अर्काे सङ्ग्रहमा तिमीले यस विषयमा मुख खोल्नै पर्छ, साथी ।
अब म अलिकति ‘अलिकति फरक कुरा’को खोलुवा गर्न चाहन्छु । पुस १४ को चितवनको पहारिलो घाममा बसेर तिम्रो निसमालोचना कृति दोस्रो पटक पढेँ । कति निसमालोचनाका साथ तिमी सशरीर उपस्थित भएको भान भयो । निसमालोचना नै किन ? भनेर तिमीले सुरुमै आफ्नो ध्येय प्रस्ट पारेका छौ । त्यसपछि अलिकति पठन संस्कृतिका कुरा गर्छु भन्दै छवि दाइको कविता चर्चा गरेका छौ । छवि दाइ भूमिगत लाग्छन् । पाठकलाई किन यसरी रुमलोमा पारेका हौ । यस्तो छुट निसमालोचनामा हुन्छ र ? तिमीले निसमालोचनाका व्याख्याकार डा. एकनारायण पौड्याललाई पनि छोडेका छैनौ । एकनारायण सर, साँच्चै निसमालोचनाको पाठक बढ्लान् त ? निसमालोचनामा तिमीले भनेका छौ — ‘कृतिको नाम निसमालोचना : सिद्घान्त र प्रयोग भनिएको भए पनि सिद्घान्त अलि प्रस्ट भएको छैन । यसमा अलि बढी काम गर्ने कि डा. साब ?’
तिमीले डा. अम्बिका अर्याल, प्रकाश पौडेल माइला, द्वारिका नेपाल, प्रकाश चापागाईँ, सुवास खनाल, सिर्जन लम्साल, एल.बी. क्षेत्री, दीपक समीप, परिविक्रम, अमला अधिकारी, पोषराज पौडेल, लालगोपाल सुवेदी, रेशमलाल श्रेष्ठ, राजेन्द्रमान डङ्गोल, आर. सी. रिजाल, रमेशमोहन अधिकारी, भरतकुमार श्रेष्ठ विवश, महानन्द ढकाल, विक्रमभक्त जोशी, हीरा लामा, वसन्त पराजुली, अशोक थापा, ध्रुवचन्द्र गौतम आदिका कृतिगत विचार र उनीहरूसँगका बसउठलाई फरकफरक ढङ्गले प्रस्तुत गरेका छौ ।
यस सङ्ग्रहमा तिमी कतिपय सर्जकप्रति निकै उदार र कतिपय लेखकप्रति अलि कडा रूपमा उभिएको पाएँ । सङ्ग्रहमा समाविष्ट धेरै निसमालोचनाहरू प्रभावपरक छन् । तिमी त्यस्ता निसमालोचनामा विषयवस्तु र भावको वर्णनमा सविस्तार बगेका छौ । अर्थात् लेखकहरूलाई सुरक्षित राखेका छौ । त्यस्ता निसमालोचनामा अलिअलि कमजोरी उल्लेख गर्दै धेरै प्रशंसा गरेको भेटेँ । कतिपय निसमालोचनामा भने तिमीले सिस्नोपानी लगाएका छौ । यशोधरासँग आकस्मिक जम्काभेट भएपछि शीर्षकको निसमालोचनामा लालगोपाल सुवेदीलाई सपनाको बहाना बनाएर राम्रो झापड हानेका छौ । त्यस्तै गुमनाम पाठकको पत्र अशोक थापाका नाममा भन्ने शीर्षकमा पत्रात्मक शैली अपनाएर अशोक थापालाई १३ वटा बुँदामा सचेत गराएका छौ । यी दुई आलेखमा समालोचक प्रभात अलि बढी कडा रूपमा प्रस्तुत भएको अनुभव गरेँ । यी दुई निसमालोचना हामीले चिनेको, भोगेको समालोचक रमेश प्रभात भेटिन्छ ।
त्यसो त अन्य निसमालोचनामा तिमीले लेखकलाई सुझाउ दिन पनि पछि परेका छैनौ । भाषिक त्रुटि एवम् प्रस्तुतिगत कमजोरीलाई स्पष्टसँग राखेका छौ । तर पनि धेरै जसो निसमालोचनामा भने मध्यम मध्यम शैली अर्थात् गाली र तालीको समन्वय भेटेँ । अलि बढी खरोपनको आशा गरेकाले यस्तो अनुभव भएको हो कि ? तिमी ध्रुवचन्द्र गौतमप्रति भने निकै नरम देखिएका छौ साथी । तिमीले गौतमलाई असी बर्से उमेरमा पनि सोह्र बर्से जवानीको श्लील कथा लेख्ने उपन्यासकारको रूपमा नमन गरेका छौ । गौतमलाई सम्झँदै `जब सातोले सातो खान थाल्छ´ शीर्षक निसमालोचनामा तिमी लेख्छौ — ‘मान्छे बुढो भएपछि स्मरण शक्ति हराउँछ , सिर्जनाशक्ति नष्ट हुन्छ र कल्पनाशीलता मर्छ भन्ने पुरातन ‘डिस्कोर्स ’ लाई पुरै भत्काइदिएका छन् उनले ।’
प्रिय साथी, यो छोटो आलेखमा सङ्ग्रहभित्र तिमीले समेटेका २७ वटै निसमालोचनाका विषयवस्तुमा प्रवेश गर्न सकिनँ । यसको लागि क्षमा चाहन्छु । यहाँ मैले केही प्रतिनिधि निसमालोचनाप्रतिको मेरो धारणा मात्र राखेँ । यहाँ उल्लेख गरिएका निसमालोचना पढिसकेपछि सम्बन्धित लेखकका पुस्तकहरू पढूँ पढूँ लाग्ने पाठकीय कौतुहलता तिमीले सिर्जना गरेका छौ । यो तिम्रो निसमालोचनाको प्राप्ति हो । तिमीले मलाई यहाँ उल्लेख गरेका पाँचवटा कृति पढ्ने दबाब सिर्जना गरेका छौ ।
अन्त्यमा, ‘अलिकति फरक कुरा’ निसमालोचना अलिकति परम्पराबाट मुक्त भएर जन्मेको छ । सङ्ग्रहमा भूमिकाहरूको गोलचक्करमा पाठकहरू पर्दैनन् । श्रीमती रेखा श्रेष्ठ प्रकाशक रहेको, १२४ पृष्ठको भित्री आयाम बोकेको निसमालोचनाको बाहिरी आवरणमा तिमीले आफ्नो मुहार प्रस्ट देखाएका छौ । तिमीबाट अझै निसमालोचनाको गहिराइ खोतलिने विश्वास लिएको छु । उमेरले पचासको नेटो काट्यौ साथी, अब थपिने भनेको सायद उमेरै त हो ।
तिम्रो शुभेच्छुक
सुरेन्द्र अस्तफल ।