चितवन, १४ पुस ।
चिनियाँ फिल्म निर्माण टोलीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको कार्यकक्षमा स्वागत गरेकी छन् । आइ वान्ट टु लिभ फरेभर (म अजम्बरी हुन चाहन्छु) नामक चिनियाँ फिल्म निर्माणका लागि उक्त टोली छायाङ्कन स्थल छनोट गर्न भरतपुर आएको हो ।
भरतपुर भ्रमण वर्ष चलिरहेको अवस्थामा चिनियाँ फिल्म भरतपुरमा पनि छायाङ्कन हुँदा समग्र भरतपुरको प्रचारप्रसार हुने भन्दै दाहालले फिल्मलाई सफलताको शुभकामना दिइन् । २ घण्टा लामो उक्त चिनियाँ फिल्ममा नेपालमा मात्रै ४० मिनेटको छायाङ्कन रहने र भरतपुरको करिब १० मिनेटको दृश्य रहने फिल्म निर्माण टोलीले जनाएको छ ।
भरतपुरसहित लुम्बिनी, मनाङ, मुस्ताङलगायत नेपालका विभिन्न ठाउँमा हुने यस फिल्मको छायाङ्कनको लागि फिल्मका प्रोड्युसर, निर्देशक एवम् कलाकार गरी ९ जनाको टोली नेपाल आएको हो । हालसम्म चीनका ७ वटा प्रदेशमा उक्त फिल्मको छायाङ्कन सकिइसकेको छ । नेपालमा ठाउँ छनोट भएपछि उक्त टोली २०२५ मार्चमा छायाङ्कनका लागि नेपाल आउने छ ।
फिल्म निर्माण टोलीका अनुसार फिल्मको कथामा दुई जना पात्र अजम्बरी हुन चाहन्छन् । उनीहरुलाई नेपाल गयो भने सञ्जीवनी बुटी पाउन सकिन्छ भन्ने कुरा कसैले बताउँछ । त्यसपछि उनीहरु सञ्जीवनी बुटीको खोजीमा नेपाल आउँछन् । बुद्ध जन्मेको देश नेपालमा आएपछि उनीहरुलाई थाहा हुन्छ कि अजम्बरी त यो संसारमा कोही पनि हुँदैन । बाचुञ्जेल उसले गर्ने कर्मले उसलाई अजम्बरी बनाउने हो भन्ने कुराको ज्ञान प्राप्त गर्दछन् ।
नेपालको विभिन्न ठाउँमा छायाङ्कन गरिनु र नेपालबाट सकारात्मक शिक्षा पाइन्छ भन्ने कुरा चिनियाँ फिल्ममा समावेश हुनुलाई राम्रो पक्ष मान्न सकिने समेत मेयर दाहालले बताईन् ।