गैँडाकोट, १४ पुस ।
तत्कालीन नवलपरासी जिल्लाको गैँडाकोट गाविसका पहिलो अध्यक्ष स्वर्गीय नवीनसागर सुवेदीको स्मृतिमा प्रकाशित पुस्तक ‘नवीनसागर : आत्मसृष्टि र जनदृष्टि’ को आइतबार एक समारोहबिच गैँडाकोटमा विमोचन गरिएको छ । गैँडाकोट नगरपालिका–८ स्थित कालिका मन्दिर कालिका आश्रमको सभाहलमा कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पुस्तक लोकार्पण गरेका हुन् ।
मन्त्री अधिकारीले पुस्तक लोकार्पणपछि चितवनकी गीता देवकोटा र कैलालीका मोहनराज खनाललाई नवीनसागर स्मृति मौरी उद्यम पुरस्कार वितरण गरे । गैँडाकोटमा रहेको सागर बीले देशभरबाट उत्कृष्ट दुई जना किसानलाई जनही १५ हजार ५ रुपैयाँ र सम्मानपत्रले पुरस्कृत गरेको हो ।
नवीनसागरको स्मृतिमा पुस्तक प्रकाशन र पुरस्कार स्थापना गरेर सागर बीले प्रशंसनीय काम गरेको मन्त्री अधिकारीले बताए । ‘सत्कर्म गरियो भने चर्चा हुने रहेछ’ उनले भने, ‘मृत्यु भएको दस वर्षपछि आज नवीनसागरका बारेमा चर्चा भएको छ ।’ स्वर्गीय नवीनसागर फलको आशा नगरी निस्वार्थ कर्म गर्ने समाजसेवी एवं राजनीतिज्ञ भएको मन्त्री अधिकारीको भनाइ थियो ।
लोकार्पण गरिएको पुस्तकमाथि टिप्पणी गर्दै कालिका संस्कृत विद्यापीठका प्राडा केशवराज चालिसेले यस पुस्तकमा नवीनसागरको आत्मकथा र जीवनीलाई दुई खण्डमा समेटिएको बताए । पुस्तकको आत्मसृष्टि खण्डमा ४४ वटा शीर्षकमा नवीनसागरका संस्मरणात्मक लेख र जनदृष्टि खण्डमा नवीनसागरका बारेमा अरुले लेखेका ५९ वटा रचना समावेश गरिएको चालिसेले जानकारी दिए ।
‘पुस्तक पढ्दा स्वर्गीय नवीनसागर परोपकारकै लागि जन्मनु भएको व्यक्ति जस्तो लाग्छ’ प्राडा चालिसेले भने, ‘उहाँ जीवनभर राजनीति, समाजसेवा, उद्यमशीलता र विकासमा लाग्नुभयो । प्रजातन्त्र र स्वतन्त्रताको पक्षमा लाग्नुभयो ।’ स्वर्गीय नवीनसागरका कर्म पढ्न यो पुस्तक आधार बन्ने उनले बताए ।
कार्यक्रममा पूर्वराज्यमन्त्री रामजीप्रसाद शर्मा, पुस्तकका सम्पादक गोविन्दराज विनोदी, गण्डकी प्रदेशका पूर्वमन्त्री महेन्द्रध्वज जिसी, नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा, संस्कृत विद्यापीठ दाङका प्राडा गुरुप्रसाद सुवेदी, नेपाल मौरीपालक महासंघका पूर्वअध्यक्ष सञ्जीव पोखरेललगायतले मन्तव्य राखेका थिए ।
स्वर्गीय नवीनसागरका जेठा छोरा दयासागर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवीनसागरका भाइ चित्रकार भीमप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, पुस्तकका सम्पादक सूर्यप्रकाश कँडेल, सुवेदी परिवारका सदस्यहरु, आफन्त एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।