भरतपुर, १३ पुस ।
प्राध्यापक डाक्टर यज्ञप्रसाद अधिकारीलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गरिएको छ । उनलाई शनिबार प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले निवासमा पुगेर सम्मान गरेका हुन् ।
प्रजातान्त्रिक विचार समाजले ४८औँ राष्ट्रिय एकता दिवस तथा मेलमिलाप दिवसको अवसर पारेर भरतपुर महानगरपालिका–१० मा पुगेर अधिकारीलाई सम्मान गरेको हो । अवस्थ रहेका अधिकारी कार्यक्रममा उपस्थित हुन कठिन भएपछि घरमा पुगेर सम्मान गरिएको अध्यक्ष वाग्लेले बताए । सम्मान कार्यक्रममा केन्द्रीय अध्यक्ष वाग्लेले लोकतन्त्रको रक्षाका लागि लोकतन्त्रवादी एक हुन आवश्यक रहेको बताए । प्रजातन्त्रको रक्षा र लोकतन्त्रको स्थापनमा अधिकारीले निर्वाह गर्नुभएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै समाजले उहाँलाई सम्मान गरेको उनको भनाई छ ।
वि.सं. २००९ चैत २३ गते पर्वतमा जन्मनुभएका अधिकारी नेपाली कांग्रेसको केन्द्रीय प्रशिक्षण विभागको सचिव, प्रजातन्त्र सम्बर्द्धन केन्द्रको उपाध्यक्ष, अन्तर्राष्ट्रिय भूपरिवेष्ठित देशको केन्द्रीय महासचिव, विश्व हिन्दू महासङ्घका आजीवन सदस्य, नेपाली कांग्रेस महासमिति सदस्य रही लोकतन्त्रको रक्षा र सम्बर्द्धनमा अतुलनीय योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको समाजले जनाएको छ ।
अधिकारी त्रिभुवन विश्वविद्यालयका निवृत्त प्राध्यापक र लेखकसमेत हुन् । उनका १० वटा कृतिसमेत प्रकाशित भएका छन् ।