चितवन, १३ पुस ।
चितवन उद्योग संघको ३३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार उद्योग संघको परिसरमा सम्पन्न भएको साधारणसभालाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्घाटन गरेका थिए ।
सो अवसरमा मायाको चिनो दिने खर्च व्यवस्थापन गरी नेपाल पत्रकार महासंघ चितवन शाखामार्फत क्यान्सरपीडित पत्रकार भूपराज पाठक र संगीता बानियाँको उपचारको लागि ५१ हजार रुपैया सहयोग प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले नेपालमै उद्यमशिलताको प्रवर्धन गरी देशमै रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्नुपर्ने बताएका छन् । लामाले राज्यले उद्योगी, व्यवसायमा लाग्न चाहनेहरुलाई उत्प्रेरित गरी उद्योगमैत्री योजनाहरु ल्याउनुपर्नेमा जोड दिए ।
बागमती प्रदेशका पूर्वमन्त्री उत्तम जोशीले नेपालका उद्योगबाट नै देशको अर्थतन्त्रलाई चलायमान हुने हुँदा उद्योगहरु सञ्चालनका लागि पर्ने नीतिगत समस्याहरुमा परिमार्जित हुन जरूरी रहेको बताए ।
साधारणसभामा जिल्ला समवन्य समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डे,नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति चितवनका अध्यक्ष रामचन्द्र अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रुद्र ढकाल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष नरेन्द्रकुमार कन्दङ्वा, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, चितवन चेम्बर अफ कमर्शका अध्यक्ष गोपाल भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य सहित वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा उद्यमी सन्देश–२०८१ को विमोचनसमेत गरिएको थियो ।
साधारणसभामा चितवन उद्योग संघका पदाधिकारी एवम् सदस्यहरु, पूर्व कार्यसमिति क्लवका पदाधिकारी एवम् सदस्यहरु, पालिका समितिका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरु, महिला तथा युवा उद्यमी मञ्चका पदाधिकारी एवं सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।