चितवन, १३ पुस ।
हरेक वर्ष पुस १५ गते गुरुङ समुदायले मनाउने ल्होसार पर्वमा यस वर्ष गरुड वर्ग (मुप्री–ल्हो) लाई बिदाई गर्दै सर्प वर्ग (सप्री–ल्हो) लाई स्वागत गर्ने तयारी गरिएको छ । बर्सेनी वर्ग (ल्हो) फेरिने (सार) भएकोले यस पर्वलाई ल्होसार भनिएको हो ।
भरतपुरको तीनखोलेस्थित महाबौद्ध गुम्बामा यस वर्ष पनि तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदले ल्होसार मनाउने भएको छ । शनिबर गुम्बा परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी परिषदले ल्होसारको तयारीबारे जानकारी गराएको हो ।
परिषदकी जिल्ला अध्यक्ष एवं तमू ल्होसार पर्व संयोजक विमलादेवी गुरुङले सदाझैँ यस वर्ष पनि विविध सांस्कृतिक कार्यक्रम र प्रतियोगिताको आयोजना गरी ल्होसार मनाउन लागिएको जानकारी दिइन् । ल्होसार पर्वको तयारीका क्रममा शनिबार गुम्बा परिसर सरसफाई गरिएको छ । आइतबार बिहान गुम्बा सजावट एवं साँझ आमा समूह र तमू विद्यार्थीबाट सांस्कृतिक कार्यक्रम तय गरिएको संयोजक गुरुङले बताइन् ।
ल्होसारको दिन सोमबार बिहान पूजाअर्चना, ग्रहशान्तिका लागि हवन, रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षमण, हाजिरीजवाफ र चित्रकला प्रतियोगिता हुनेछ । औपचारिक कार्यक्रममा मन्तव्य, पुरस्कार एवं प्रमाणपत्र वितरण, अभिनन्दन र सांस्कृतिक कार्यक्रम हुने परिषदका जिल्ला सचिव किशोर गुरुङले जानकारी दिए । भरतपुरमा करिब ५० हजार गुरुङ जातिका बासिन्दा रहेको र ल्होसार पर्वमा करिब ७ हजार जनाको सहभागिता रहने उनले बताए ।