चितवन, १३ पुस ।
चौधरी ग्रुपको सिजी कर्प अन्तर्गतको सिजी मोटर्स र सिजी मोटर्सको आधिकारिक विक्रेता युरो मोटर्सले शुक्रबार साँझ भरतपुर महानगरपालिकाको भतेरीमा भव्य कार्यक्रमको आयोजना गरी नयाँ विद्युतीय कार एक्सपेङ जीसिक्सको लन्चिङसँगै बुकिङ सुरु गरेका छन् ।
अत्याधुनिक प्रविधि समेटिएको एक्सपेङ जीसिक्स विद्युतीय कारलाई फूल चार्जपछि ५ सय किलोमिटरसम्म चलाउन सकिने बताइएको छ ।
एक्सपेङ जीसिक्स लन्चिङ कार्यक्रम युरो मोटर्सका अध्यक्ष रुबिन रामुदामुको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा युरो मोटर्सका सन्तोष भट्टराईले एक्सपेङ जीसिक्स सुविधसम्पन्न रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि सिजी मोटर्सका हेमन्त अग्रवालले एक्सपेङ जीसिक्सले इभीको दुनियाँमा तहल्का मच्चाउने दाबी गरे । नेपालमा आयात हुने विद्युतीय गाडीमध्ये २५ प्रतिशत सिजी मोटर्सले आयात गर्ने गरेको उनको भनाइ थियो । ग्राहकको सन्तुष्टिलाई मुख्य प्राथमिकतामा राखेर सिजी मोटर्सले नेपालको अटो बजारमा आफ्नो पकड बनाइराखेको अग्रवालले बताए ।
कार्यक्रमका विशेष अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले अटो बजारमा नयाँ उत्पादन थपिँदा अर्थतन्त्रलाई चलायमान हुन सहयोग पुग्ने बताए । अर्का विशेष अतिथि भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले सुविधासम्पन्न विद्युतीय गाडी चाहने उपभोक्ताहरुलाई एक्सपेङ जीसिक्स उत्तम विकल्प हुने विचार व्यक्त गरे ।
कार्यक्रममा एक्सपेङ जीसिक्सका दुई मोडलको अनावरण रामुदामु, अग्रवाल, श्रेष्ठ र रानाभाटले गरेका थिए । चिनियाँ ब्राण्डको एक्सपेङ जीसिक्स लन्चिङ कार्यक्रम सकिएपछि सांगीतिक कार्यक्रम भएको थियो । कार्यक्रममा उद्योगी, व्यवसायी, चिकित्सक, पत्रकारलगायतको सहभागिता रहेको थियो ।