चितवन, १२ पुस ।
भरतपुर अस्पताल परिसरमा पुस १९ गते बिहान ८ बजे “मेरो पहिलो रक्तदान” कार्यक्रम आयोजना हुने भएको छ । मिसन रेड अभियान अन्तर्गत जनस्वास्थ्य कार्यालय, चितवनको सह आयोजना र भरतपुर अस्पतालको सहकार्यमा यो अभियान आयोजना हुन लागेको हो।
यस कार्यक्रमको मुख्य उद्देश्य कहिल्यै रक्तदान नगरेका व्यक्तिहरूलाई रक्तदान गर्न प्रेरित गर्नु रहेको आयोजकले जनाएको छ ।
मिसन रेड अभियान देशभर देखिएको रक्त अभाव समाधान गर्न एसडि फाउन्डेसनले सुरु गरेको योजना हो । यस अभियानले एक वर्षभित्र ५ हजार पिन्ट रगत संकलन गर्ने, १० हजार युवालाई रक्तदान र रगत अभाव व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने तथा डिजिटल प्लेटफर्ममार्फत ५० लाख मानिसलाई रक्तदानमा उत्प्रेरित गर्ने लक्ष्य लिएको छ । हालसम्म अभियानले १३५० पिन्ट रगत संकलन गरिसकेको छ भने रक्त व्यवस्थापनका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
रक्त अभावलाई दीर्घकालीन रूपमा समाधान गर्न अभियानले ब्लड बैंकलाई डिजिटल बनाउन सफ्टवेयर विकास र रक्तदाता तथा बिरामीका लागि विशेष मोबाइल एप निर्माणको काम अघि बढाएको आयोजकको भनाइ छ । अभियान अन्तर्गत देशव्यापी रक्तदान र उत्प्रेरणा कार्यक्रमहरू सञ्चालन भइरहेको छ ।
रक्तदानको आवश्यकता पूरा गर्न मिसन रेड अभियानले स्थानीय स्तरमा आयोजना गर्ने कार्यक्रमहरू मध्ये “मेरो पहिलो रक्तदान” पनि एउटा महत्वपूर्ण प्रयास भएको जनाएको छ । आयोजकले यस कार्यक्रममा सहभागी भई रक्तदान गर्न सबैलाई आग्रह गरेको छ ।