मकवानपुर, १२ पुस ।
बागमती प्रदेश सरकारले चितवनमा निर्माण भइरहेकाे गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि १० करोड रुपैयाँ बजेट दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रंगशाला निर्माणका लागि वार्षिक बजेट कार्यक्रममा समावेश भए अनुसार १० करोड रुपैयाँ बजेटकाे अख्तियारी दिने निर्णय गरेको हाे ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अनुसार भरतपुर महानगरपालिका र बागमती सरकारको साझेदारीमा निर्माण भइरहेको उक्त रंगशाला निर्माणका लागि अनुदानका रूपमा १० करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय गरेको हो । उक्त रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुरले ३० प्रतिशत लागत साझेदारी गर्ने सहमति गरेको थियो ।
बागमती प्रदेश सरकार र भरपुर महानगरपालिका चितवनले रंगशाला निर्माण गर्ने गरी गत २१ कात्तिक २०८० मा सम्झौता गरेका थिए । २३ माघ २०८० काे प्रदेश मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गरी वहुवर्षीय ठेक्का आह्वान गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि ५२ करोड ५० लाख बजेट स्वीकृत गरेकाे थियाे ।
तत्कालिन प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले रंगशाला निर्माणका समझदारी पत्रमा हस्ताक्षर पछि बजेट जुटाउन स्राेतकाे खाेजीलाई तिब्रता दिइएकाे थियाे । प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गरी तत्काल निर्माण गर्ने गरी सम्झौता भएकाे थियाे ।
भरतपुर महानगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ र भरतपुर महानगरपालिकाले २२ करोड ५० लाख रुपैयाँ लगानी गर्ने छन् । यसअघि रंगशाला निर्माणका लागि २३ असार २०८१ मा बागमती प्रदेश सरकारले १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको थियाे ।
चितवनको भरतपुर नगरपालिकामा रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २२ साउन २०७८ बाट पूर्ण रुपमा रोकिएको थियो ।