मकवानपुर, १२ पुस ।
बागमती प्रदेश अन्तरगतका ११ जिल्लाका प्रादेशिक अस्पतालमा अध्यक्ष नियुक्त गरिएको छ । बागमती प्रदेश सरकारकाे स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ११ जिल्लाको प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त गरेको हो ।
प्रदेशको स्वास्थ्य मन्त्रालयले गत मङ्सिर २७, पुस ७ र ९ गतेको निर्णयानुसार ११ जिल्लाको प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त गरेको मन्त्रालयले जनाएकाे छ । भक्तपुर अस्पतालको अध्यक्षमा सूर्यविनायक–१, का शशिजंग थापालाई नियुक्त गरिएको छ । उनी बागमती प्रदेशसभाका पूर्व सांसदसमेत हुन् । पशुपति चौलागाई स्मृति अस्पताल दोलखाको अध्यक्षमा भीमेश्वर–१ का सुवास रिमाल, त्रिशूली अस्पतालको अध्यक्षमा विदुर–१० का उपेन्द्र बुढाथोकी, बकुलहर रत्ननगर अस्पतालको अध्यक्षमा रत्ननगर–२ चितवनका गोपाल कर्माचार्य, चौतारा अस्पतालको अध्यक्षमा चौतारा साँगाचोकगढी–११ का केशवराज गिरीलाई नियुक्त गरिएको छ ।
त्यस्तै रसुवा अस्पतालको अध्यक्षमा गोसाईंकुण्ड–६ का विवश श्रेष्ठ, मेथिनकोट अस्पताल काभ्रेको अध्यक्षमा नमोबुद्ध–७ का विष्णुप्रसाद खनाल, वज्रवाराही चापागाउँ अस्पताल ललितपुरको अध्यक्षमा गोदावरी–११ का रामहरि घिमिरे, टोखा चण्डेश्वरी अस्पताल काठमाडौँको अध्यक्षमा काठमाडौँ–१८ का प्रकाश खड्गी, रामेछाप अस्पतालको अध्यक्षमा रामेछाप–६ का यमकुमार पाख्रिन र धादिङ अस्पतालको अध्यक्षमा गल्छी–५ की राधिका सापकोटालाई नियुक्त गरेको छ ।
मन्त्रालयले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ (पहिलो संशोधन) बमोजिम अध्यक्ष नियुक्त गरेको हो । अध्यक्षकाे पदावधि समेत साेही ऐन बमोजिम हुनेछ । हेटौंडा अस्पताल र सिन्धुली अस्पतालको अध्यक्ष बाहेक सबै जिल्लाका प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त गरिएकाे हाे । हेटौंडा अस्पतालको अस्पताल सञ्चालन तथा व्यवस्थापनको अध्यक्ष मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार हुने कानुनी व्यवस्था रहेकाे छ । सिन्धुली अस्पतालमा विशेष कारणले अध्यक्ष नियुक्त नभएकाे मन्त्रालयले जनाएकाे छ ।