चितवन, ११ पुस ।
भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिकाेत्सवका अवसरमा राष्ट्रिय खाना महाेत्सव आयाेजना गरिने भएकाे छ । यहि पुस १२ गतेदेखि १६ गतेसम्म पश्चिम चितवनकाे मेघाैलीमा खाना महाेत्सव गर्न लागिएकाे हाे ।
मेघाैलीकाे जानकी माध्यमिक विद्यालयमा आयाेजना गर्न लागिएकाे महाेत्सवमा स्थानीय खानाका ५० वटा स्टलहरु रहने संयाेजक मायाराम चाैधरीले जानकारी दिनुभयाे । महोत्सव गर्न रु ६१ लाखकाे अनुमानित खर्चमा लाग्ने उहाँले बताउनु भयो । चाैधरीका अनुसार स्थानीय थारु, कुमाल, दराई, मगर, गुरुङ, बोटे, मुसहर समुदाय सहितका स्थानीय जातका खाना महाेत्सवमा राखिने छ । स्थानीय समुदायकाे जीवन स्तरमामा सुधार ल्याउन महाेत्सव फलदायी हुने चाैधरीले बताउनुभयाे । महाेत्सवमा १ लाख भन्दा बढि पर्यटक आउने अनुमान गरिएको उहाँले बताउनु भयो ।
पत्रकार सम्मेलनमा बाेल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षकाे समयमा लक्ष्य भन्दा बढि पर्यटक महानगरमा भित्रिएकाे बताउनु भयाे । महानगरपालिका भित्र एक वर्षमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले अवलाेकन गरेका छन् । भरतपुर भ्रमण वर्षले यहाँका पर्यटकीय क्षेत्रकाे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्धनमा टेवा पुगेकाे, आन्तरिक तथा बाह्य पर्यटककाे संख्या बृद्विमा महत्वपूर्ण भूमिका पुगेकाे उहाँले बताउनु भयो ।
दिगाे पर्यटन विकासका पूर्वाधारहरु थपिएकाे, हाेटल रेष्टुरेन्टमा सेवा बृद्वि भएकाे, पर्यटककाे संख्या, बस्ने अबधि एवं आर्थिक क्रियाकलापहरुमा बृद्वि भएकाे उहाँले बताउनुभयाे ।
महानगर प्रमुख दाहालले भ्रमण वर्ष सफल बनाउन विभिन्न चुनाैतिहरु देखिए पनि अपेक्षा अनुसार काम भएकाे बताउनु भयाे । राजनैतिक अस्थिरता, स्थानीय पालिकाबाट पहिलाेपटक आयाेजना गरिएकाे हुँदा सिकाे गर्ने ठाउँ नहुनु, भाैतिक निर्माणमा तदारुपताका साथ काम हुन नसक्नु मुख्य समस्यकाे रुपमा रहेकाे उहाँले बताउनु भयाे ।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाकाे विकाससँगै जनतालाई प्रत्यक्ष लाभान्वित बनाउने उद्देश्यले भ्रमण वर्षकाे आयाेजना गरिएकाे र साे उद्देश्य प्राप्तिमा सफल भईएकाे बताउनुभयाे । स्थानीय जनतामा याे महाेत्सवले थप उर्जा मिल्ने उहाँले बताउनुभयाे । यस महाेत्सवमा स्थानीय खाना सँगै ७७ वटै जिल्लाकाे प्रतिनिधत्व गर्दै ७७ मिटर लम्बाईकाे नेपालकाे नक्सा विशेष आकर्षककाे रुपमा रहने उहाँले बताउनुभयाे ।